पहिला प्ले कार्ड, अहिले रित्तो, थोत्रे गाग्री
अनि धरानमा मेयर साम्पाङले देखाए रित्तो थोत्रे गाग्री, धरानेको तिर्खा कोशीको पानीले मेटिएला ?
धरानः चुनावी एजेन्डाअनुसार पाँच वर्षभित्र धराने जनतालाई भरपर्दो मात्रामा अर्थात् दीर्घकालीनरूपमा पानी खुवाउने भन्दै धरानका मेयर हर्कराज राई (साम्पाङ) लागिपरिरहेकै छन् ।
कोशीको पानी ल्याइछाड्ने आफ्नो लक्ष्य, सपना र महत्वपूर्ण त चुनावी एजेन्डा नै रहेको सुनाइरहने मेयर साम्पाङ निकै हतास समेत देखिन्छन्– कारण हो आफ्नो पाँच वर्षे कार्यकालमा धरानेको तिर्खा मेटाउन सक्दिन कि ।
खानेपानीलाई आफ्नो मुद्दा बनाएर चुनाव लडेका साम्पाङ चुनाव लड्नुअघि रित्तो गिलेन र प्लेकार्डसहित घरी नगरपालिका गेट, घरी खानेपानी संस्थानको कार्यालयअगाडि चहारिरहेका हुन्थे । तर अहिले मेयर भइसकेपछि उनी एक्लै ‘थोत्रे रित्तो गाग्री’ लिएर सडकमा निस्किएका छन् । हुन पनि हो, धरानमा खानेपानी समस्या भएको दशकौं भयो । २०५० सालतिर धरानमा पानीको समस्या नदेखिएपनि जनसंख्या बढ्दै गएपछि पानीको समस्या थपिँदै गयो । धरानमा खानेपानीको मुद्दा नै सारै थोत्रे अर्थात् पुरानो भइसकेको र त्यही भएर आफू ‘सिम्बोलिक’ रुपमा आफू रित्तो, थोत्रे गाग्री लिएर निस्किएको उनको भनाइ छ ।
आइतबार दिउँसो अफिसबाट सिधै उनी भानुचोकमा रित्तो गाग्री लिएर सुहायो भन्दै एक्लै पुगेका थिए । पत्रकारमाझ कुरा गर्दै उनले धरानलाई केन्द्र सरकारले जहिल्यै हेयको दृष्टिले हेर्ने गरेको बताउँदै भने, ‘यो आन्दोलन केन्द्र सरकारलक्षित आन्दोलन हो, पहिला पत्र लिएर जान्थे, अहिले गाग्री लिएर जाँदैछु ।’

हुन पनि हो, उनी धरानमा देखिएको खानेपानी समस्याको दीर्घकालीन समाधानको खोजी गर्दै अर्थात् कोशीको पानी धरान ल्याउन बजेटको माग गर्दै पटक–पटक सिंहदरबारमा पुगेकै छन् ।
उनी यसअघि कोशी नदीबाट धरानमा खानेपानी झार्ने बजेट विनियोजनका लागि धरान उपमहानगरपालिकातर्फबाट तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ समक्ष ज्ञापनपत्र बुझाएका थिए । मेयरसँगै उपमेयर आइन्द्रविक्रम बेघा पनि त्यतिबेला पुगेका थिए । २०७९ चैत २१ गते र २०८० चैत २० (दुईपल्ट) उनले प्रचण्डसँग भेटेर खानेपानीको लागि बजेट विनियोजन गरिदिन आग्रह गरेका थिए ।

मेयर साम्पाङ उपमेयर अइन्द्रबिक्रम बेघासँगै पुगेका बेला प्रम प्रचण्डले पहिलादेखि नै राजनीतिक मुद्दा बनेको धरानको खानेपानी समस्या आफूले समाधान गरिछाड्ने बताएका थिए ।
मन्त्रीको आश्वासनः ‘कागलाई बेल पाक्यो हर्ष न विस्मात’
कोशीको पानी ल्याउने योजनाका लागि बजेट विनियोजन हुनेमा सबैभन्दा बढी विश्वस्त उनी थिए । तर बजेट मै नपारिएपछि मेयर साम्पाङको खानेपानी मुद्दा ओझेलमा परेको थियो ।
धरान उपमहानगरपालिकाको कार्यालयभित्रै आएर कोशी खानेपानी आयोजनालाई ‘डिपिआर’को लागत अनुमानबमोजिम बजेट विनियोजनबारे स्पष्ट पार्दै धनकुटाबाट चुनाव जितेका तत्कालीन खानेपानी मन्त्री राजेन्द्र राईले आयोजनाका लागि ५ अर्ब ७२ करोड ५६ लाख रुपैयाँ बजेट विनियोजन भइसकेको भन्दै हिँडेका थिए । उनले मेयर साम्पाङसँगको भेटमा भनेका थिए, ‘अब ढिला नगरी सप्तकोशीबाट पानी ल्याउन आगामी आवमा ‘टेन्डर’ हुन्छ, ढुक्क हुनुहोस् ।’

त्यतिबेला मन्त्रीले बोलेका कुराहरू धरानबासी साथै देशविदेशसम्मका जनताले खानेपानीका लागि पक्कै पनि बजेट विनियोजन हुन्छ भनेर टेलिभिजन र समाचारमा एकोहोरो हेरिरहे । तर त्यो बजेट धरानबासीको लागि ‘कागलाई बेल पाक्यो हर्ष न विस्मात’ भने जस्तै भयो ।
मेयर साम्पाङले मन्त्रीले पनि झुट बोलेको समेत बताए । ‘त्यतिबेला आम सञ्चार माध्यममा छ्याप्छ्प्याती समाचार र भिडियो समेत आयो तर त्यो अहिले झुट भयो ।’ मेयर साम्पाङ थप्छन्– मन्त्री राईले ५ अर्ब छुट्याउँछु भन्नुभयो, २० लाख रुपैयाँ मात्रै रहेछ, त्यसको पनि ठेक्का नलाग्ने देखियो, पहिला पनि सरकारले धरानलाई खानेपानीका लागि सहयोग गरेको होइन, ऋण दिएको हो ५६ करोड रुपैयाँ अझै तिर्न बाँकी छ, तिर्न चाँजो मिलाउँदै थिएँ, १० दलले हुँदैन भनेर आन्दोलन अघि बढेपछि म पछि हटें ।
अझै प्रश्न गर्दै मेयर साम्पाङ
पहिला अभियन्ता हुँदा पनि प्रश्न तेस्याइरहने मेयर साम्पाङ मेयर भइकन पनि प्रश्न तेस्याइ नै रहेका छन् ।
उनले आफूले कोशीको पानी दीर्घकालको लागि ल्याउन लागेको बताए । उनी थप्छन्– म पाँच वर्षको लागि आएँ, पाँच वर्षको लागि मात्रै सोच्छु भनेर हुँदैन, मैले ५०–१०० वर्षको लागि सोच्ने हो । उनले ५०–१०० वर्षपछि धरानको जनसंख्या कहाँ पुग्छ ? त्यतिबेला कति पानी चाहिएला ? भनेर प्रश्न समेत गरे ।
साम्पाङका अनुसार कोकाहा नदी सुक्खायाममा सुक्ने किसिमको खोला नभएपनि त्यसले मात्रै धरानको तिर्खा मेट्दैन । कोकाहाको पानी ल्याउन धरान ल्याउन देशविदेशबाट सहयोग साथै श्रमदानमार्फत् धेरै सहयोगी बन्यो । धरानलाई खानेपानी खुवाउने चुनावी वाचा गरेका साम्पाङले खानेपानीका लागि श्रमदान अभियान मात्रै चलाएका छैनन्, आफैं पनि श्रमदानमा सक्रिय छन् । तर यस काममा संघीय सरकारबाट सहयोग नभएको साम्पाङले दाबी गरे ।

बेलाबेलामा कतिपय धरानेले ‘पानी खुवाउँछु’ भनेर भन्ने मेयर अन्यत्रकै काममा भुलेको समेत आरोप लगाउँदै आएका छन् । तर उनी पानीकै एजेन्डाले नै चुनाव जितेको हुनाले आफू जसरी हुन्छ पानी ल्याउने विषय प्राथमिकतामा राखेर काम गर्दै आएको र कोशी नदीको पानी आउनुअघि पनि आफू स्रोतहरूको खोजीमै रहेको सुनाउँछन् ।
आफूले खानेपानीमा सुधारका लागि श्रम अभियानबाट कोकाहा भन्दा अगाडि पकुवा, सर्दु–खुर्द, निशाने खोला, भालु खोलाको मुहानमा ट्याङ्की बनाएर पाइप जोडेर धरानको खानेपानी समस्याको केही हदसम्म भएपनि सुधार्ने कोसिस गरिरहेको उनको भनाइ छ । ‘धराने जनताले जहिले जहिले खानेपानीको दुःख भन्दै हिँडिरहनुपरेको छ, म आइकन खानेपानीमा धेरै राहत भइसकेको छ । फागुन लागिसक्दा पनि खासै समस्या रहन्नँ, नगर प्रमुखले यत्रो कोसिस गरिरहेको छ तर उहाँहरूले (सरकारमा बसेका) हरूले चाहिँ के गरे ? म प्रश्न गर्न चाहन्छु त्यही प्रश्न गर्न म सिंहदबारमा जाँदैछु ।’
उनले रित्तो, थोत्रे गाग्री खानेमन्त्रीलाई भेटेर बुझाउने कार्यक्रम छ । सोमबार उनी काठमाडौं पुगेर पत्रकार सम्मेलन गर्ने र मंगलबार थोत्र्रे अनि रित्तो गाग्री बोकेर सिंहदरबार पुग्ने उनको योजना छ । ‘यो आन्दोलन नारा लाउने होइन, प्रधानमन्त्री, खानेपानी मन्त्री र अर्थमन्त्रीलाई भेट्ने एउटा छुट्टै शैलीको कार्यक्रम हो । यसमा उहाँहरूले पनि बुझिदिनुहुन्छ भन्ने आशा राखेको छु ।’ उनले भनेका छन् ।
कोशी प्रोजेक्टको काम कति अगाडि बढ्यो ?
धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई चुनावमा उठ्नुअघि पानीकै कुरा गरिरहन्थे, चुनावमा पनि पानीकै एजेन्डा उठाए, चुनाव जितेर काम गर्ने ठाउँमा आउँदा पनि पानीकै कुरा गर्दै पानीकै लागि मरिहत्ते गर्दै दौडधुपमा छन् ।
दलहरूले भने तमोरबाट सुरुङ मार्गमार्फत् पानी ल्याउने बताउँदै आएपनि मेयर साम्पाङ यसलाई स्वीकार्दैनन् । उनी भन्छन्– तमोरको पानी धरान आउन सम्भव छैन, एकातर्फ जलाधार मासेर त्यो पानी ल्याउन मिल्दैन भने धरानभन्दा तमोर होंचो स्थानमा छ । होचो स्थानमा रहेको पानी ल्याउन डयाम बनाउँद धेरै ठाउँ डुब्छ ।
उनले धराने जनतालाई भरपर्दो मात्रामा पानी खुवाउने आफ्नो लक्ष्य रहेको बताउँदै कोशीबाट ३२ इन्चको पाइपमा पानी ल्याएर धरानबासीलाई खुवाउने बताए । ‘३२ इन्चको पाइपमा धराने जनतालाई पानी ल्याएर खुवाउने मेरो सपना छ’, उनी भन्छन्, ‘र त्यो दिनमात्रै आफूलाई सफल भएको सम्झिनेछु, जुन दिन मैले कोशीको पानी ल्याएर जनतालाई ल भयो अब पानी पुग्यो, के सारो पठा’को भन्नेसम्म पार्न सकुँ ।’
केन्द्र सरकारले अहिलेसम्म धरानलाई हेर्ने दृष्टिकोण अत्यन्तै विभेदकारी रहेको बताउँदै राष्ट्रिय गौरवका आयोजना नपारिएको समेत उनले बताए । उनी आफ्नो कार्यकालमा योजना शुरु भइसकेको हुनुपर्ने बताउँछन् । ‘धरान जनताले जहिले जहिले खानेपानी खान पाइएन भनेर भनिरहन नपरोस्, मेरो कार्यकालमा त्यो योजना शुरु भएको हुनुपर्दछ ।’
यद्यपि कोशी नदीको पानी ल्याउने योजनामा संघीय सरकारबाट बजेट विनियोजन भएको र माटो परीक्षणको काम भने भइसकेको उनी बताउँछन् । कोशीको पानी ल्याउन करिब ४–५ अर्ब लाग्ने बजेटमा सरकारले कन्जुस्याइँ गरेको उनको ठहर छ ।
‘हालसम्म पनि अध्ययन नै गरिहेको भन्छन् तर बजेट पार्दैनन् ।’ मेयर साम्पाङको जोड छ, ‘खानेपानीजस्तो आधारभूत आवश्यकतामा केन्द्र सरकारले धरानको यो खानेपानीको थोत्रे मुद्दालाई लथालिङ्ग र थात्रे पारामै हेरिदिनु भएन भन्ने पनि हो ।’
उनले संघीय सरकार तातेर धरानबासीको लागि लगानी गर्नुपर्ने सुनाउँछन् । ‘यो राष्ट्रिय मुद्दा हो, यसलाई राष्ट्रिय गौरवको आयोजनाका रुपमा हेर्नुपर्छ, यसका लागि संघीय सरकार तात्नुपर्छ, उसले लगानी गर्नुपर्छ, यसको लागि धरानेहरुको पनि साथ र सपोर्ट रहनेछ ।’ उनले भने ।
धरानको २० वटै वडामा खानेपानीको समस्या छ । यतिबेला धरानमा खानेपानीको माग दैनिक ५ करोड लिटर छ भने आपूर्ति केवल २ करोड २० लाख लिटर मात्र रहेको जनाइएको छ ।
खानेपानी समस्या समाधान गर्ने मुख्य एजेण्डा लिएर चुनावमा होमिएका साम्पाङले यसरी थोत्रे गाग्री प्रदर्शनपछि खानेपानी पाउने आशामा धराने छन् । कतिपय भाषणमा मेयर साम्पाङले सरकारले बजेट व्यवस्था गर्न नसके आफ्नै तौर तरिकाले पनि पानी ल्याएर धरानबासीलाई जसरी पनि कोशीको पानी खुवाउने बताउँदै आएका छन् ।
धरानमा खानेपानीको समस्या पुरानै हो । समाधान गर्ने भन्दै धेरै राजनीतिक दलका नेताले भाषण छाँटेर निर्वाचन पनि जितेपनि तर दीर्घकालीन समाधान गर्न कहिल्यै चासो नदिएको कारण मुद्दालाई आफ्नो मूल एजेन्डाका मेयर साम्पाङले चुनाव जितेका हुन् । चुनाव जित्नुअघि उनी भन्ने गर्दथे– पानीसमेत खुवाउन नसक्नेहरुले के राजनीति गर्नु ?, त्यही भएर मलाई जिताउनुहोस्, म पानी जसरी पनि खुवाउँछु । अहिले मेयर भइसकेपछि उनी स्थानीय तह निर्वाचनको बेला धरानमा पानीको समस्या समाधान गर्ने बाचा पूरा गर्ने ध्याउन्नमा कस्सिएका छन् ।
धरानको यो खानेपानीको अभावलाई समाधान गर्न धरान उपमहानगरपालिकाले एसियाली विकास बैंक (एडिबी) को एक अर्ब ७७ करोड ऋण अनुदानमा सन् २०१५ मा खानेपानी आयोजनाको काम शुरु गरेको थियो । यो आयोजना र धरान उपमहानगरपलिकाबीच भएको सम्झौतामा प्रति दिन १ करोड ५२ लाख २० हजार लिटर पानी उत्पादन गर्ने भनेर उल्लेख भएको थियो । तर, यो आयोजना सम्पन्न भएर हस्तान्तरण भइसक्दा पनि धरानको खानेपानीको अवस्था पहिलाको जस्तै छ ।
अहिले यो आयोजना पूर्णरूपमा असफल भएको आशंका छ । सम्झौतामा उल्लेख भएको भन्दा आधा पनि पानी उत्पादन हुन नसकेको स्थानीयको आरोप छ । एडिबीको शर्तअनुसार धरानको खानेपानी व्यवस्थापनको जिम्मा सरकारद्वारा सञ्चालित खानेपानी संस्थानबाट खोसेर खानेपानी बोर्डमा पनि सारियो । जसले खानेपानीको महसुल दोब्बर नै महङ्गो भयो । तर, खानेपानीको आपूर्तिमा भने कुनै सुधार देखिएको छैन ।



