धरानः केबलकार निर्माणको विरोधमा उत्रिएको ‘नो केवलकार समूह’ र प्रहरीबीच भएको झडपमा परी गम्भीर घाइते भएकाहरूलाई उपचारका लागि काठमाडौं लगिएको छ । नेपाली सेनाको जहाजमा घाइतेहरूलाई काठमाडौं लगिएको हो ।
यसैबीच मंगलबारदेखि मेची राजमार्ग र तमोर करिडोरमा अनिश्चितकालीन यातायात बन्दको घोषणा गरिएको छ । मुक्कुम्लुङ संरक्षण संयुक्त संघर्ष समिति, केबलकार खारेजी संयुक्त संघर्ष समिति लगायतका पाँचवटा संस्थाले सो बन्दको आह्वान गरेका हुन् ।
प्रदेश नम्बर १ पुनः नामांकन संयुक्त संघर्ष समिति, थरगत संस्था (याक्थुङ सयङ) सहजीकरण समूह र किरात धर्म तथा साहित्य उत्थान संघले संयुक्त विज्ञप्ति प्रकाशित गरी बन्दको आहवान गरेका हुन् ।
सात बुँदे आन्दोलनको कार्यक्रममा उनीहरुले मेची राजमार्ग, तमोर करिडोर र तेहृथुमबाट ताप्लेजुङतर्फ छिर्ने नाकाहरुमा अनिश्चितकालीन यातायात बन्दको आह्वान गरेका हुन् ।
चन्द्र ढकाल र उनका कार्यकर्ता रुद्र पौडेललाई ताप्लेजुङ प्रवेश निषेध गर्ने, फुङलिङ नगरपालिकाका मेयर अमिर मादेनलाई जिल्ला बाहिर प्रवेश निषेध गर्ने, पाथीभरा क्षेत्र विकास समिति खारेज गर्नुपर्ने, ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी र सशस्त्र प्रहरी प्रमुखले माफी माग्नुपर्ने र कारबाही गर्नुपर्ने तथा राज्य आतंक प्रहरी दमन केबलकार निर्माण खारेजीका विषयमा कोणसभा गर्ने उल्लेख छ ।
झडपमा प्रहरी इन्स्पेक्टर रोहित शर्मासहित १२ जना र सशस्त्र प्रहरीका ९ जना तथा नो केबलकार समूहका ४ जना घाइते भएको जानकारी दिए । तीमध्ये केही घाइतेहरुको नोबेल अस्पताल विराटनगरमा उपचार भइरहेको छ भने केहीलाई काठमाडौं लगिएको हो ।
ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माका अनुसार प्रहरी इन्स्पेक्टर रोहित शर्मासहित १२ जना र सशस्त्र प्रहरीका ९ जना तथा नो केबलकार समूहका ४ जना घाइते भएको जानकारी दिए ।
आन्दोलनरत पक्षमध्येका यमबहादुर लिम्बू र धर्मान पालुङ्वालाई गोली लागेको हो । आन्दोलनरत पक्षका एक जनाको खुट्टा भाँचिएको आफूलाई जानकारीमा आएको उनले बताए । अहिले त्यहाँको सुरक्षा अवस्था कडा गरिएको उनले बताए । उनले प्रहरीले सुरक्षा सावधानी अपनाएको कारण नै ठुलो क्षति हुन नपाएको बताए । ‘माथिबाट आन्दोलनकारीले ढुङ्गा बर्साइसकेपछि तल रहेका प्रहरीहरूले गोली चलाउनु परेको हो । आन्दोलनकारीले छुरी, दाउरा, ढुङ्गा र गुलेलीहरूसहित आइसकेपछि र कमान्डरलाई नै हानेपछि त्यो अवस्था सिर्जना भएको हो,’ शर्माले भने ।
शनिबार ‘नो केबलकार समूह’ र प्रहरीबीच दुई पटक झडप भएको थियो । झडपका क्रममा गम्भीर घाइते तीन जनालाई उपचारका लागि काठमाडौं पु¥याइएको छ । जिल्ला अस्पताल ताप्लेजुङमा प्राथमिक उपचारपछि शनिबार राति स्वास्थ्यकर्मी र सुरक्षाकर्मी सहितको टोलीले नोबेल अस्पताल पु¥याएको थियो । नोबेलबाट नेपाली सेनाको वायुयानबाट काठमाडौं लगिएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।
तेह्रथुमको म्याङलुङ नगरपालिकाका यामबहादुर लिम्बु, पाँचथरको मिक्लाजुङ–५ का सगुन लावती र फुङलिङ–८ दोखुका धर्मेन्द्र पालुङ्वालाई उपचारका लागि लगिएको छ । लिम्बु र लावतीलाई गोली लागेको छ । लावतीको खुट्टामा र लिम्बुको कोखमा गोली लागेको जनाइएको छ । पालुङ्वाको भने कुममा चोट लागेको अस्पतालले जनाएको छ ।
झडपका क्रममा घाइते मेरिङदेन गाउँपालिकाका विशाल श्रेङ लिम्बु र पाँचथरको मिक्लाजुङ–५ का मंगल लावती उपचारपछि ताप्लेजुङ अस्पतालबाटै फर्किएका छन् । नेपाल प्रहरीका इन्स्पेक्टर रोहित शर्मासहित जवानसम्मका १२ र सशस्त्र प्रहरीका ९ जना घाइते भएको प्रहरी नायव उपरीक्षक रवि रावलले जानकारी दिए । दुवै पक्षले आफ्नो कारणले झडप नभएको दाबी गरेका छन् ।
आन्दोलनकारीले ढुंगामुढा गरेर गुलेली हानेपछि गोली हान्न बाध्य भएको प्रशासनले जनाएको छ भने नो केबलकार समूहले शान्तिपूर्ण आन्दोलनको तयारी गरिरहँदा प्रहरीले अन्धाधुन्ध आक्रमण गरेको दाबी गरेको छ ।