Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

ढिलासुस्तीले अलपत्र धरान-बाङगे जोड्ने सडक धमाधम कालोपत्र, ३७ करोड २३ लाखमा ठेक्का

हाम्रो कोशी आवाज
माघ १६ २०८१, बुधबार
ढिलासुस्तीले अलपत्र धरान-बाङगे जोड्ने सडक धमाधम कालोपत्र, ३७ करोड २३ लाखमा ठेक्का

धरानः निर्माण व्यवसायीले ढिलासुस्ती गरेर अलपत्र पारेको सुनसरीस्थित बराहक्षेत्र नगरपालिका महेन्द्रनगरको बाङ्गेबाट हल्दिया–कालाबंजर–तीनकुने–भलुवा चौरी हुँदै धरान जोड्ने सडक कालोपत्र सुरु भएको छ ।
कोशी प्रदेश भौतिक पूर्वाधार विकास मन्त्री भुपेन्द्र राईको निरन्तरताको ताकेता र ठेक्का तोड्ने चेतावनीपछि उक्त सडक कालोपत्रे सुरु भएको हो । कालोपत्र सुरु भएपछि सोमबार मन्त्री राईसहितको टोली सो स्थानमा पुगेको थियो ।
लुम्बिनी गजुरमुखी जेभीले यस सडक निर्माणका लागि २०७६ भदौ १२ गते ठेक्का सम्झौता गरेको थियो । २०७८ असोज १५ गते सक्नुपर्ने सडकको काम नसकिएपछि पटकपटक म्याद थपिएको थियो ।
कम्पनीले आफूले लिएको ठेक्का समयमै सम्पन्न गर्न २०७९ साउन ८ गते नै पूर्वाधार विकास कार्यालय मोरङलाई प्रतिबद्धता पत्र दिएको थियो । हालसम्म ३१ करोड ६० लाख ५१ हजार ७२३ रुपैयाँ अर्थात् ठेक्का सम्झौता रकमको ७८ प्रतिशत भुक्तानी लगिसकेको उक्त कम्पनीको भौतिक प्रगति ८० प्रतिशत रहेको पूर्वाधार विकास कार्यालय मोरङले जानकारी दिएको छ ।
साढे १३ किलोमिटर लामो उक्त सडक सुनसरीको बाङ्गेदेखि सुरु भएर धरानको चतरा सडकसम्म पुग्नेछ । सडक निर्माणका लागि ३७ करोड २३ लाख ३० हजार २५ रुपैयाँमा ठेक्का लागेको हो ।
भेरिएसनपश्चात् उक्त आयोजनाको लागत ४० करोड २७ लाख ८३ हजार ७६० रुपैयाँ पुगेको छ ।
गत कात्तिक र मंसिरमा पटकपटक अनुगमन र निर्माणको ताकेताका लागि मन्त्री आफैं सो स्थानमा पुगेका थिए । उनको साथमा राज्यमन्त्री भूमि राजवंशी, मन्त्रालयका सचिव अशोककुमार साह, पूर्वाधार विकास कार्यालय मोरङका प्रमुख सुशील श्रेष्ठ, निर्माण कम्पनी लुम्बिनी गजुरमुखी जेभी प्रतिनिधि सन्तोष गौतमसहितको टोली रहेको थियो ।
मन्त्री राईकै पहलमा सार्वजनिक सुनुवाइ गर्दै निर्माण कम्पनीलाई थप गरेको समयमा काम सम्पन्न गर्ने प्रतिबद्धता जाहेर गर्ने माइन्युटमा हस्ताक्षर गराइएको थियो । उक्त सडकको निर्माणको काम ०८२ साल असार मसान्तसम्ममा सक्नुपर्ने छ ।

प्रकाशित मिति: माघ १६ २०८१, बुधबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend