धरानः धरानका प्रहरीले कारमा गाँजा फेला पारेको छ भने चालक फरार भएका छन् ।
धरान उपमहानगरपालिका–१७ स्थितबाट लागूऔषध गाँजा बोकेको कार प्रहरीले नियन्त्रणमा लिएको छ । बुधबार बिहान ५ बजे लागूऔषध ओसारपसार भइरहेको भन्ने सुइँको पाएको प्रहरीले कारमा गाँजा फेला पारेको हो ।
विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले धरान–१७ स्थित विष्णुपादुका जाने सर्दुखोलाको पुलनजिक चालक नभएको अवस्थामा रोकी राखेको बा९च १७६८ नम्बरको क्रिम कलरको कारलाई शंका लागेर चेकजाँच गर्दा कारभित्र १०१ किलो ग्राम गाँजा बरामद गरेको इलाका प्रहरी कार्यालयले जनाएको छ ।
लागूऔषध गाँजा बरामद भएसँगै कार समेतलाई प्रहरीले नियन्त्रणमा लिई ओसारपसारमा संलग्न व्यक्तिको खोजतलास तथा अन्य थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यस्तै, प्रहरीले सुनसरीको कोशीगाउँपालिका–१ र भोक्राहा नरसिंह गाउँपालिका–३ स्थितबाट ब्राउन सुगर सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
लागूऔषध नियन्त्रण व्यूरो विराटनगर र इलाका प्रहरी कार्यालय लौकहीबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा सुनसरी रामधुनी नगरपालिका–३ का २३ वर्षीय मो. जाविरलाई १ ग्राम १० मिलिग्राम ब्राउन सुगरसहित, सप्तरी कन्चनरुप नगरपालिका–७ का २२ वर्षीय विजय खडकालाई २ ग्राम ६८ मिलिग्राम ब्राउन सुगर, नाइट्राभेट १५ ट्याव्लेट सहित, सप्तरी हनुमानगर कंकालिनी नगरपालिका–१० का २४ बर्षीय रोहित मण्डललाई २ ग्राम ४१० मिलिग्रामसहित र उदयपुर रौतामाई–७ का २८ वर्षीय पदमबहादुर मगरलाई २० ग्राम ४०० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको छ ।
यस्तै, सुनसरी भोक्राहा नरसिंह गाउँपालिका वडा न.३ फुलचौकमा एकजना पक्राउ गरेका छन् । उदयपुर रौतामाई गाउँपालिका वडा नं. ७ मुर्कुची बस्ने पदमबहादुर मगरलाई शंका लागेर शरीरमा कानून बमोजिम तलासी लिँदा लागूऔषध (ब्राउन सुगर) जस्तो देखीने पदार्थ फेला पारी सो पदार्थलाई डिजिटल तराजुमा तौल गर्दा प्लाष्टिक बाहेक २० ग्राम ४०० मिलिग्रामसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
गोली हानेर दाजुभाइ समातिए
उता झापाको कनकाई नगरपालिका–४ स्थितबाट लागूऔषध ओसार पसारमा संलग्न रहेका २ जनालाई प्रहरीले गोली प्रहार गरी नियन्त्रणमा लिएको छ ।
लागूऔषध ओसार पसार भईरहेको भन्ने विशेष सूचनाको आधारमा लागूऔषध नियन्त्रण व्युरो काकडभिट्टा र इलाका प्रहरी कार्यालय सुरुङ्गाबाट खटिएको प्रहरी टोलीले कनकाई नगरपालिका–४ स्थित कुमरखोद–सुरुङगा भित्री सडक खण्डमा चेकजाँचको क्रममा २ जना सवार रहेको बिआर ७ एए ४९८ नम्बरको मोटरसाइकललाई शंका लागेर रोक्न खोज्दा नरोकी भगाएपछि प्रहरीले गोली प्रहार गरी नियन्त्रणमा लिएको हो ।
खुट्टामा गोली लागेर घाइते भएका मोटरसाइकल चालक भारत बिहार डिगल बैंकका २८ वर्षीय अन्जर आलमको प्रादेशिक अस्पताल भद्रपुरमा प्रहरीको निगरानीमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
बरामद भएको ३० ग्राम ६९० मिलिग्राम ब्राउनसुगर र मोटरसाइकल पछाडि सवार रहेका उनका भाई १९ वर्षीय युसुव आलमलाई नियन्त्रणमा लिएको छ । ब्राउनसुगरसहित पक्राउ परेका उनीहरुको इलाका प्रहरी कार्यलय अनारमनीबाट थप अनुसन्धान तथा कानुनी प्रक्रिया पूरा गर्ने काम भइरहेको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक भीमबहादुर दाहालले जानकारी दिए ।