Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानको बीपी प्रतिष्ठानमा उपचार नपाएर भौतारिरहेकी महिलाको निःशुल्क जटिल शल्यक्रियामार्फत् ट्युमर निकालियो

हाम्रो कोशी आवाज
माघ २५ २०८१, शुक्रबार
धरानको बीपी प्रतिष्ठानमा उपचार नपाएर भौतारिरहेकी महिलाको निःशुल्क जटिल शल्यक्रियामार्फत् ट्युमर निकालियो

धरानः धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एक महिलाको डिम्बासयबाट १८.६ किलो वजन तथा ५० से.मी. आकारको ट्यूमर शल्यक्रिया गरी सफलतापूर्वक निकालिएको छ ।
मोरङमा बसोबास गर्दै आएकी ३९ वर्षीय महिलाको शल्यक्रिया प्रतिष्ठानको गाइनोकोलोजी एण्ड अब्स्टेट्रिक्स विभागका एसोसिएट प्रोफेसर तथा गाइनो अन्कोलोजी सर्जन डा. रमेश श्रेष्ठको नेतृत्वमा भएको थियो । यस प्रकारको जटिल शल्यक्रिया सफलतापूर्वक सम्पन्न गर्नमा डा. श्रेष्ठलगायत विभागकी प्रा.डा. प्रिथा बस्नेत, डा. सन्तोषकुमार झा, डा. रिचा भट्टराईको संलग्नता रहेको थियो । त्यसैगरी, एनेस्थेसियोलोजी विभागबाट डा. योगेश ढकाल तथा उनको टिमको संलग्नता रहेको थियो भने नर्सिङ तर्फबाट श्री सुजाता राई लगायत टिमको संलग्नता रहेको थियो ।
जटिल स्वास्थ्य समस्याबाट ग्रसित भई कष्टकर जीवन भोग्दै गर्दा उपचारको खोजीमा भौतारिएकी थिइन् । चार महिना देखि हिड्डुल गर्न, खान र श्वास प्रश्वासमा कठिनाई भोग्दै आएकी तथा आर्थिक स्थित नाजुक भएकी ती महिला आफ्नो उपचारको लागि विराटनगर, भरतपुर लगायत पोखरासम्म पुगेकी थिइन् । तर आर्थिक अभावका साथै शल्यक्रियाको जटिलताका कारणले उनको शल्यक्रिया हुन नसकेकोले अन्त्यमा उपचारको आशा बोकी यस प्रतिष्ठानमा आएका पाइएको प्रतिष्ठानका सहप्रवक्ता डा. अभिजीत कुमारले जानकारी दिए ।
महिलाको आर्थिक अवस्थालाई मध्यनजर गर्दै विभागीय प्रमुख प्रा.डा. अचला ठाकुरको सिफारिशमा प्रतिष्ठानले सबै परीक्षणहरु, बेड चार्ज तथा शल्यक्रियाको निःशुल्क व्यवस्था गरेको थियो ।
शल्यक्रियापश्चात् महिलालाई बाँकी औषधिउपचारका लागि ९ दिनसम्म वार्डमा राखी सकुशल डिस्चार्ज गरिएको थियो ।
डिस्चार्ज भएको दुई महिना पश्चात् ती महिला तथा उनको श्रीमान् बायोप्सीको रिपोर्ट सहित ओपीडीमा आएका थिए र प्रतिष्ठानको प्याथोलोजी विभागको रिपोर्ट अनुसार सो ट्यूमर क्यान्सर हुनसक्ने अवस्थाको मात्र रहेको थियो । उपचार नै गर्न असम्भव जस्तो लागेको आफ्नी श्रीमतीलाई पुनः पुरानै अवस्था फर्काउन सकेको भन्दै ती महिलाका श्रीमानले चिकित्सकलाई धन्यवाद दिएका छन् ।
सामान्यतया डिम्बाशयको ट्यूमर भन्नाले महिलाहरुमा प्रजनन् अङ्गको रुपमा रहेको डिम्बाशयको कोषिका अनियन्त्रित रुपमा बढ्दै जानु रहेको चिकित्सकले जनाएका छन् ।
महिलाहरुमा सामान्यतया यो डिम्बाशय पाठेघरको माथिल्लो भागको दायाँ र बायाँ दुवै भागमा टाँसिएर रहेको अवस्थामा हुन्छ । डिम्बाशयको ट्यूमर प्राय क्यान्सररहित अवस्था, क्यान्सर हुनसक्ने अवस्था र क्यान्सर भएको अवस्थाका हुन्छन् ।

प्रकाशित मिति: माघ २५ २०८१, शुक्रबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend