धरानः बस र ट्रक जुध्दा एकजनाको मृत्यु भएको छ भने २३ जना घाइते भएका छन् ।
बिहीबार राति साढे ८ बजे उदयपुरको उदयपुरगढी गाउँपालिका ७ जोगी टोलस्थित मदन भण्डारी राजमार्गमा जन्ती बोकेको गाडी र मिनी ट्रक एक आपसमा ठक्कर खाइ दुर्घटनामा परेका थिए ।
दुर्घटनामा बसमा यात्रा गरिरहेका बारा गढी गाउँपालिका ४ बस्ने ७० वर्षीय सीताराम धामीको मृत्यु भएको प्रहरीले जनाएको छ । शरीरका विभिन्न भागमा चोट लागेको अवस्थामा उनलाई उपचारका लागि विराटनगरस्थित न्युरो अस्पताल लगिएको थियो । अस्पतालमै चिकित्सकले मृत घोषणा गरेका थिए ।
बारा जिल्लाबाट जन्ती बोकी गाईघाटतर्फ आउँदै गरेको बाग्मती प्रदेश ०६–००१ ख ०१९५ नम्बरको बस र गाईघाटबाट तेजपत्ता बोकी जाँदै गरेको ना८ख २४०४ नं.को मिनी ट्रक दुर्घटनामा परेका थिए ।
दुर्घटनामा घाइते बनेका बसमा सवारी अधिकांश यात्रुहरु सामान्य उपचारपछि घर फर्केका छन् ।
उता संखुवासभामा ट्याक्टर दुर्घटनामा एकजनाको ज्यान गएको छ । संखुवासभा सभापोखरी–६ हन्सीगाउँ नजिकै बाह्रबिसेबाट आपुङ्गतर्फ जाँदै गरेको भे२त १९२९ नं को वालुवा लोड गरेको ट्याक्टर आफै अनियन्त्रित भई सडकदेखि अन्दाजी ६० मिटर तल खोल्सीमा खस्न पुगेको थियो ।
मृत्यु हुनेमा चालक चैनपुर–६ बस्ने १९ वर्षीय रवि बराइली रहेको प्रहरीले जनाएको छ ।