धरानः धरान–९ स्थित राधाकृष्ण प्रणामी मन्दिरको स्वर्णमहोत्सव, धर्मशाला उद्घाटन गर्न राष्ट्रपति रामचन्द्र पौडेल धरान आइपुगेका छन् ।
उद्घाटन कार्यक्रमपछि बोल्दै उनले सबैमा मानव सेवाको भावना भए देश र समाजमा सहिष्णुता बढाउन मद्दत पुग्ने बताएका छन् । ‘जुनसुकै धर्म, सम्प्रदाय भएपनि सबैको लक्ष्य भनेको मानव सेवा नै हो । हरेक धर्म, सम्प्रदायलाई यहीरुपमा बुझ्नसके देश र समाजमा सहिष्णुता बढाउन मद्दत पुग्छ,’ राष्ट्रपति पौडेलले भने ।
उनले सबैको लक्ष्य मानव सेवा हुनुपर्ने समेत बताए । राष्ट्रपति पौडेलले नेपाल पूर्वीय ज्ञान परम्पराको स्रोत भएको तथा यो ज्ञान,परम्परा र सभ्यताभित्र अनेक संस्कृति र सभ्यताको एकता र ऐक्यवद्धता देखिने बताए । यो ऐक्यबद्धताले विश्वमा शान्ति,सहिष्णुता र बन्धुत्वको भावना जागृत गराउने काममा मद्दत गर्न सक्ने उनको भनाइ छ ।
विश्वमा चरम भौतिक विकासको चाहना र होडबाजी बढ्दा समाजमा शान्ति,सुव्यवस्था,आपसी सद्भाव,सहयोगको भावना खस्किँदै गएको समेत उनले बताए ।
वडाध्यक्ष रुपेश आचार्यका अनुसार धर्मशाला ३ करोड १५ लाख रुपैयाँको लागतमा १ कट्ठा जग्गामा १६ वटा कोठा निर्माण सम्मन्न भएको छ । उनका बुबा तथा मन्दिर व्यवस्थापन समितिका अध्यक्ष नेत्रप्रसाद आचार्यले धर्मशाला बनाएका हुन् ।
धर्मशालामा बीपी प्रतिष्ठानमा उपचारका लागि धरान आउने बिरामी, कुरुवा र गरिब तथा असहायलाई निःशुल्क कोठा, ग्याँस, भाडावर्तनलगायत उपलब्ध गराइने उनले बताए ।
कार्यक्रममा राष्ट्रपति आउने भएपछि धरानको सुरक्षा व्यवस्था कडा बनाइएको थियो । कार्यक्रममा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीलगायतको उपस्थिति थियो । कार्यक्रममा बोल्दै उनले धरानको खानेपानी समस्या उहिलेदेखि रहँदै आएको र खानेपानीमै राजनीति चलिरहेको बताउँदै भने, ‘यसका लागि राष्ट्रपतिको पनि ध्यानाकर्षण गराउन चाहन्छु ।’
मन्दिर स्थापनाको ५० वर्ष पुगेको अवसरमा मन्दिरद्वारा निर्मित १६ कोठे धर्मशाला साथै ब्रह्मलीन बाबाजी श्री १०८ गोपी दासको स्मृतिमा निर्मित गोपी स्मारक ध्यान साधनालयको समेत उद्घाटन भएको छ ।
तस्वीरहरुः हाम्रो कोशी आवाज





























