ताप्लेजुङमा नो केबुलकार समूहको प्रदर्शन उग्र बन्न थालेपछि स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको छ ।
पाथीभरा क्षेत्रमा केबुलकार निर्माणको विषयलाई लिएर प्रदर्शन दिनहुँ प्रदर्शन हुन थालेपछि स्थानीय प्रशासनले आइतबार बिहानदेखि अनिश्चितकालीन निषेधाज्ञा जारी गरेको हो । आइतबार बिहान ५ बजेदेखि लागू हुने गरी जिल्ला प्रशासन कार्यालय, ताप्लेजुङले फङलिङ नगरपालिकाको बजार र काफ्लेपाटी-बल्लुडाँडा क्षेत्रमा अनिश्चितकालीन निषेधाज्ञा जारी गरेको हो ।
प्रशासनले फुङलिङ नगरपालिका-७, सल्लेरी, घोडेचौर (थलाङ धारा क्षेत्रसम्म), वडा नम्बर -४, उकालीपानी र वडा नम्बर- ६, शेर्पा टोल (भेटनरी कञ्चनजंघा टोल) लाई निषेधित क्षेत्र घोषणा गरेको छ । यसैगरी, काफ्लेपाटी- बल्लुडाँडा क्षेत्रको पर्यटक प्रहरीको भवनको १०० मिटर इलाका, बल्लुडाँडा/ डडेले इलाका, केबलकार बेस स्टेसन तथा पानीको मुहान इलाकाको १०० मिटर र नयाँ बसपार्क इलाकाको १०० मिटर (जंगल इलाकासमेत) मा निषेधाज्ञा जारी गरिएको छ ।
फुङलिङ नगरपालिका बजार क्षेत्रमा हुन सक्ने प्रदर्शन, जुलुसका कारण स्थानीय स्तरमा हुलदंगा, झडप र प्रतिकूल स्थितिको सिर्जना भएर शान्ति सुरक्षा भंग हुन सक्ने भएकाले अर्को आदेश नभएसम्मका स्थानीय प्रशासन ऐन, २०२८ (संशोधनसहित) को दफा ६ को उपदफा ३ (क) बमोजिम निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले जानकारी दिए ।
निषेधित क्षेत्रमा ५ जनाभन्दा बढी व्यक्ति भेला भई सभा, जुलुस प्रदर्शन घेराउजस्ता कार्यक्रम गर्न निषेध गरिएको छ । निषेधाज्ञा उल्लंघन गर्ने व्यक्ति वा समूहलाई कारबाही हुने पनि चेतावनी प्रशासनले दिएको छ ।
यसअघि शनिबार साँझ फुङलिङमा मसाल बोकेका नो केबुलकार समूह र प्रहरीबीच झडपले भएको छ । झडकमा केही प्रहरी र प्रदर्शनकारी घाइते भएका थिए ।
