Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानका मेयर हर्क साम्पाङद्वारा धरान–१८ मा तरकारी बजार खोल्ने भन्दै शिलान्यास, जग्गामा विवाद बढ्यो

हाम्रो कोशी आवाज
फाल्गुन १५ २०८१, बिहिबार
धरानका मेयर हर्क साम्पाङद्वारा धरान–१८ मा तरकारी बजार खोल्ने भन्दै शिलान्यास, जग्गामा विवाद बढ्यो

धरानः धरान–१८ स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठाननजिकै तरकारी खोल्ने विषयमा विवाद भएको छ ।
धरान–१८ प्रतिष्ठाननजिकै धरान उपमहानगरपालिका र १८ नम्बर वडा कार्यालय मिलेर तरकारी बजार साथै अन्य संरचना बनाउने भन्दै उपमहानगरपालिकाका मेयर हर्कराज राई साम्पाङले बिहीबार शिलान्यास गरेपछि विवाद बढेको हो । शुक्रबारदेखि काम थाल्ने भन्दै मेयर साम्पाङले सो स्थानमा शिलान्यास गरेका थिए । प्रतिष्ठानले ‘बाउन्ड्री वाल’ लगाइसकेको क्षेत्रभन्दा बाहिर अर्थात् सडकको खाली रहेको जग्गा उपमहानगरकै भएको दावी गर्दै मेयर साम्पाङले विभिन्न संरचना निर्माण गर्न तम्सिएका हुन् ।
यसैबीच बिहीबार नै मेयर साम्पाङ आफैं उपस्थित भएर सो ठाउँमा संरचना बनाउने भन्दै शिलान्यास सकेर लड्डु समेत खाइसकेलगत्तै प्रतिष्ठानका रजिष्टार प्रा.डा.सूर्यप्रसाद संग्रौला शिलान्यास भएको स्थानमा आइपुगेका थिए । त्यहाँ केहीबेर भनाभन समेत भएको थियो । भनाभनपछि मेयर साम्पाङले स्वास्थ्यमन्त्रीसँग मात्रै कुरा गर्छु भन्दै रजिष्ट्रार संगौलालाई फर्काइदिएका थिए । मेयर साम्पाङले प्रतिष्ठानका कर्मचारीलाई धम्क्याँदै कानुनी उपचार खोज्न चेतावनी दिएका छन्। उनले आफू जनप्रतिनिधि भएको र मामुली कर्मचारीसँग बहस नगर्ने भन्दै स्वास्थ्यमन्त्रीसँग मात्रै कुरा गर्ने चेतावनी समेत दिएका थिए । उपमहानगरकै आफ्नै तरकारी बजार खोल्ने भन्दै मेयर साम्पाङले ६५ लाख ७० हजार बजेट छुट्याएर तरकारी पसलका लागि सटर बनाउन खोजेपछि विवाद बढेको हो ।
प्रतिष्ठानले ‘ग्रीनबेल्ट’ को रुपमा छाडेको आफ्नो जग्गा भन्दै दावी गरेपछि विवाद बढेको हो । मेयर साम्पाङले पालिकाको व्यवस्थित तरकारी बजार बसालेर बजारलाई विकेन्द्रीकरण गर्न खोजेको बताए । मेयर साम्पाङको दावी छ–बाउन्ड्रीवाल बाहिरको जग्गा प्रतिष्ठानले दाबी गर्न नमिल्ने र सो जग्गा नगरकै हो ।
उता प्रतिष्ठानले भने बाउन्ड्री वाल लगाएको क्षेत्र पनि प्रतिष्ठानकै भएको दावी गरेको छ । विज्ञप्तिमा भनिएको छ, ‘प्रतिष्ठानले मूल गेट पूर्व तथा पश्चिमतर्फ बाउन्ड्री वाल निर्माण गर्दा पेरिफेरल रोड, ड्रेन तथा ग्रिनवेल्टको क्षेत्रलाई छाडेर मात्र बाउन्ड्रीवाल लगाइएको छ ।’ उपमहानगरपालिकाको अहिले पनि धरान–३ मा आफ्नै तरकारी बजार छ । मेयर साम्पाङले धरान–९ मा सञ्चालित तरकारी बजार घरधनीहरुले चलाएको बताउँदै आफ्नै तरकारी बजार थप्नका लागि साथै तरकारी बजारलाई विकेन्द्रीकृत गर्ने आफ्नो सोंच रहेको बताएका छन् । ‘धरान–१८ रेल्वेको जनता भानुचोक पुगिरहन सक्दैन, त्यसले गर्दा सबैतिर तरकारी बजार विकेन्द्रीकृत गर्ने हो ।’ उनले भने ।
प्रतिष्ठानले बिहीबार नै एक अपील जारी गर्दै आपसी छलफल र सहमतिविना मेयर साम्पाङले भौतिक संरचना बनाउन शिलान्यास गरेको जनाएको छ । मेयर साम्पाङले धरान–१८ बीपी प्रतिष्ठानअगाडि सुन्दर बजार निर्माण साथै प्रतिष्ठान उत्तरतर्फ रहेको जग्गामा ब्यायामशाला लगायत संरचना निर्माण भइसकेको तर त्यहाँ निर्माण गर्न खोज्दा अवरोध गर्न खोज्नु राजनीतिक घुसेको आरोप लगाएका छन् ।

प्रकाशित मिति: फाल्गुन १५ २०८१, बिहिबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend