Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानको चिन्डेडाँडा जाने सडक फराकिलो बनाइँदै, जेठभित्र सक्न निर्माणको काम धमाधम

हाम्रो कोशी आवाज
फाल्गुन १९ २०८१, सोमबार
धरानको चिन्डेडाँडा जाने सडक फराकिलो बनाइँदै, जेठभित्र सक्न निर्माणको काम धमाधम

धरानः धरान उपमहानगरपालिका-२० मा स्थित चिन्डेडाँडा (रमितेडाँडा) जाने बाटो फराकिलो बनाउने साथै अन्य संरचना थप गर्ने काम धमाधम भइरहेको छ ।
धरान-१३ सर्दु खोलाको पुलपारी रहेको कच्ची सडकदेखि केहीमाथिदेखि कालीखोला माथिल्लो तहसम्मको करिब दुई किलोमिटर सडक फराकिलो बनाउँदै निर्माण कार्य धमाधम भइरहेको हो ।
धरान उपमहानगरपालिकाका वरिष्ठ इन्जिनियर सुरज श्रेष्ठका अनुसार प्रदेश सरकारको समपुरक अनुदानमार्फत् १ करोड ५० लाख रुपैयाँको लगानीमा सडक बन्दै गरेको हो । ‘प्रदेश सरकारले समपूरक अनुदानमार्फत् १ करोड दिएको हो त्यसमा उपमहानगरपालिकाले ३० प्रतिशत लगानी गरेको छ, ठेक्काचाहिँ कममै लागेको छ, करिब ९६ लाखमा ठेक्का लागेको छ ।’ उनले जानकारी दिए ।
जेठ मसान्तसम्ममा सक्ने हिसाबले काम भइरहेको सिद्धकाली निर्माण सेवा कम्पनीले जनाएको छ । एक साइड ३४२ मिटर ड्रेन, एजिङ वाल, साइडमा ग्याविङ वाल साथै कजवेमा होमपाइपसहित सडक फराकिलो बन्ने भएको हो ।
धरान–१३ बाट चिन्डेडाँडा पुग्न कच्ची बाटो छ । हिँडेर जाँदा करिब ४५ मिनेट लाग्ने सो ठाउँमा मोटरसाइकल वा गाडीमा जाँदा १५ मै पुगिन्छ । अहिले सो बाटो निर्माण भएपछि स्थानीयबासी खुशी भएका छन् ।
पहिलादेखि नै चिन्डेडाँडा आन्तरिक पर्यटकको आकर्षक गन्तव्य थियो । बिहान र बेलुकीपख ‘हाइकिङ’ गर्दै साथै स्वास्थ्यका लागि धरानबासी पुग्ने गरेका थिए भने आन्तरिक र बाह्य पर्यटक सो ठाउँमा दिनहुँजसो पुगिरहन्छन् । धरान बजारको रमणीय दृश्य देखिनुका साथै तरहरा, इटहरीलगायत तराईका अन्य ठाउँ, चारकोसे झाडीको समेत दृश्यावलोकन गर्न सकिने भएकाले चिन्डेडाँडामा दिनहुँजसो पर्यटक पुग्ने गरेका छन् ।
रमाइलो र घमाइलो चिन्डेडाँडामा बसेर दृश्यावलोकन गर्नुको आनन्द नै वर्णन गरेर साध्य छैन । पहिला रमित हेर्ने डाँडा भएकोले स्थानीयबासीले रमितेडाँडा भनेर चिन्ने गरेको यो स्थान पछिल्लो समय चिन्डेडाँडा रहन गएको बताएका छन् ।
अहिले सर्दुखोलामा पुल निर्माण भएपछि चिन्डेडाँडा पुग्न झनै सहज भएको छ । धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई साम्पाङको नेतृत्वमा चिन्डेडाँडामा किरात राई समुदायको देउता सुम्निमा पारुहाङ प्रतिमा बनाइने भनेर थप प्रचार समेत हुन थालेपछि अहिले सो स्थान अझै चर्चामा छ । सो स्थानमा इटहरीबाट देखिने सुम्निमा पारुहाङको प्रतिमा (मूर्ति) बनेपछि देशीविदेशी पर्यटकको समेत ओइरो लाग्ने र पर्यटन क्षेत्रले तीब्र रुपमा फड्को मार्ने मेयर साम्पाङ बताउँछन् । तस्वीरहरुः हाम्रो कोशी आवाज

प्रकाशित मिति: फाल्गुन १९ २०८१, सोमबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend