सुनसरीः सुनसरीको हरिनगर गाउँपालिका–४ मा ट्रयाक्टरको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा स्थानीय उमेश मेहता रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । भुटाहाबाट चिमडीतर्फ जाँदै गरेको प्रदेश २–०१–००१ त २४७१ नम्बरको ट्र्याक्टरले पैदल यात्रीलाई ठक्कर दिँदा गम्भीर घाइते भएका मेहतालाई उपचारका लागि जिल्ला अस्पताल इनरूवामा पुर्याइएको र उपचारका क्रममा उनको मृत्यु भएको प्रहरी नायब उपरीक्षक युवराज खतिवडाले जानकारी दिए ।
ट्रयाक्टर र चालक रूपेश सरदारलाई इलाका प्रहरी कार्यालय हरिनगरको नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
यस्तै, ट्याक्टरबाट लडेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रामप्रसाद राई गाउँपालिका ७ बस्ने २१ वर्षीय निशान राई रहेका छन् । अचानक ट्याक्टरको ट्रलीबाट लड्दा ट्याक्टरको पछाडिको चक्काले किच्दा घटनास्थलमै मृत्यु भएको प्रहरी जनाएको छ ।
उनी भोजपुर आमचोक गाउँपालिका ६ घोडेटार बालंखा कच्ची सडक खण्डमा पूर्णे बजारबाट बासिखोरातर्फ जाँदै गरेको प्रदेश नं.१–०२–००३ त १३४३ नम्बरको ट्याक्टरमा सवार रहेका थिए । ट्याक्टर चालक संखुवासभा चैनपुर ७ बस्ने २५ वर्षीय ओङदी शेर्पा इप्रका बोयाङको नियन्त्रणमा रहेका छन् । चालकको लापरवाहीले दुर्घटना भएको प्रहरीले जनाएको छ ।
ट्याक्टरमा मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु भएको छ ।
उदयपुरको त्रियुगा नगरपालिका ८ सरस्वती पुलस्थित मदन भण्डारी लोकमार्गमा गाईघाटबाट चुहाडेतर्फ फर्की रोकिरहेको प्रदेश २–०१–००१त २३०१ नं को ट्याक्टरमा सोही दिशातर्फ जाँदै गरेको बा.६४ प ५१७ नम्बरको मोटरसाइकल पछाडिबाट ठक्कर खान पुगेको थियो ।
दुर्घटनामा मोटरसाइकल चालक उदयपुर त्रियुगा नगरपालिका ७ भान्टाबारी बस्ने ३४ वर्षीय भुवन राई गम्भीर घाइते बनेका थिए । उपचारको लागि जिल्ला अस्पताल उदयपुर लगिएको र उपचारका क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । ट्याक्टर चालक जिल्ला उदयपुर उदयपुरगढी ६ बस्ने २८ वर्षीय कुलबहादुर मगर जिप्रका. उदयपुरको नियन्त्रणमा छन् ।