धरानः मोरङको धनपालथान गाउँपालिकामा आगलागी हुँदा जलेर बालिकाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा तीन वर्षीया बालिका रेश्मा खातुन रहेको जिल्ला प्रहरी कार्यालय मोरङका एसपी नारायण चिमोरीयाले जानकारी दिए । धनपालथान–६, कदमा गाउँमा सुरु भएको आगलागीले अहिलेसम्म १६ घर जलेर नष्ट भएको मोरङका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए ।
गाउँपालिकाको वडा नम्बर ६ र ७ को सिमावर्ती क्षेत्र कदमाहामा मंगलबार दिउँसो आगलागी भएको हो । ‘दुईजना बालबालिका हराएका थिए, त्यसमध्ये एक जना बालक फेला परेका छन् । एकजना बालिकाको मृत्यु भएको छ,’ उनले भने, ‘हराएका भनिएका अर्का बालक भने भेटिएको छ । ती बालक बालक घटनास्थलभन्दा केही पर सकुशल फेला परेका छन्। आगलागीमा परेर बालिका रेश्माको मृत्यु भएको छ।’

जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता प्रहरी नायव उपरीक्षक वेदप्रकाश जोशीका अनुसार आगो नियन्त्रणका लागि दमकलको सहयोगमा प्रहरी, नेपाली सेना र स्थानीयबासी खटिएका छन् । मोरङ प्रहरीका प्रवक्ता वेदप्रकाश जोशीका अनुसार चर्को घाम र हावाहुरीका कारण आगो नियन्त्रणमा समस्या भएको उनले जानकार दिए । स्थानीय बासिन्दा, सुरक्षाकर्मी र दमकलको सहयोगमा आगो निभाइएको थियो ।
चुल्होबाट आगलागी सुरु भएको हुनसक्ने अनुमान प्रहरीले गरेको छ । विराटनगर, रंगेली लगायतबाट आगलागी नियन्त्रणका लागि वारुणयन्त्र पुगेपनि निर्धारित समयमा वारुणयन्त्र प्रयोग गर्न नपाएको स्थानीयले बताएका छन् । अहिले आगलागी नियन्त्रणमा आएको छ । तर, आगलागी भएको धेरै समयपछि मात्र वारुणयन्त्र पुगेको र धेरै क्षति भएको प्रहरीले जनाएको छ ।