धरानः सुनसरीको इटहरीमा एक पुरुषलाई सवारी साधनले ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ ।
इटहरी उपमहानगरपालिका ५ हिरा होटल अगाडि पूर्व–पश्चिम लोकमार्गमा साइकलमा यात्रा गरिरहेका ती पुरुषलाई पहिचान हुन नसकेको सवारी साधनले ठक्कर दिँदा उनको मृत्यु भएको इलाका प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए ।
साइकलयात्री तत्काल नाम, थर र वतन नखुलेको उनको भनाइ छ । अन्दाजी ४० को पुरुषको कम्मरको भाग र टाउकोमा गम्भीर चोट लागेर धरानस्थित बीपी प्रतिष्ठानमा उपचारका लागि पठाइएको र प्रतिष्ठान पुरयाउनासाथ चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।
यस्तै, बराहक्षेत्र–६ ठाकुरबारीमा मोटरसाइकल आफैं अनियन्त्रित भई दुर्घटना हुँदा एकजनाको मृत्यु भएको हो ।
शुक्रबारेबाट ठाकुरबारीतर्फ आउँदै गरेको को३९प ७९९२ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटना हुँदा पछाडि सवार रामधुनी– ५ बस्ने २५ वर्षीय राधेश्याम चौधरीको मृत्यु भएको हो । गम्भीर घाइते भई उपचारको लागि धरानस्थित बीपी प्रतिष्ठानमा ल्याइएको र उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरीक्षक विकास राईले जानकारी दिए ।
यस्तै, दुहबी नगरपालिका–७ फर्साइ छिटाहा भित्री सडक खण्डमा ट्याक्टर अनियन्त्रित भएर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा दुहबी–७ की ६० वर्षीया देउकुमारी खाँ रहेकी छन् ।
दुहबी नगरपालिका–७ फर्साइ छिटाहा भित्री सडकखण्डमा प्र.१–०२–००३ त ३३११ नम्बरको ट्रयाक्टर अनियन्त्रित भएर दुर्घटना हुँदा ट्रयाक्टरमा सवार खाँ घाइते भई तत्काल उपचारको लागि नोबेल अस्पताल विराटनगर लगिएकोमा उपचारको क्रममा मृत्यु भएको हो ।