-राजेन्द्र शर्मा
वि.सं. १९९० को महाभूकम्पमा ठूलो धनजनको क्षति व्यहोरे पछि तात्कालीन धरानका समाजसेवीहरुको सामूहिक पहलमा विक्रम सम्वत् १९९२ सालमा धरानका महामना दाताहरुले निजी जग्गा दानगरी जनस्तरबाटै भवन खडा गरी जनता कै पहलमा डाक्टर एवम् औषधीहरुको प्रबन्ध गरी सुरु भएको धरानको छाताचोक नजिकैको धरान अस्पताल ठूलो षडयन्त्रमा परेर धरानबाट हरण भएको घटनाले आम धरानबासीलाई मानसिक तथा भौतिकरुपमा ठूलो क्षति पुगेको छ ।
अस्पतालको हरणले दाताका परिवारहरुको उपहास मात्र गरेको छैन आम धरानेले सहज तथा सुलभ रुपमा लिन पाउने सरकारी उपचार सेवाको समेत अपहरण भएको छ । जनस्तरबाट प्रारम्भ भए पनि वि.सं. २००७ सालमा प्रजातन्त्र प्राप्ति पछि बनेको पहिलो सरकारले सोही अस्पताललाई सरकारी अस्पतालका रुपमा ग्रहण गरेर डाक्टर, नर्स, कर्मचारी तथा उपचारको खर्च समेत सरकारले व्यहोर्ने व्यवस्था गरेको थियो ।
अर्थात् धरानमा वि.सं. २००७ सालदेखि नै सरकारी अस्पताल थियो र धरान तथा यसका आसपासको १६ जिल्लाका नागरिकहरुले उपचारको निशुल्क सेवा समेत प्राप्त गरिरहेका थिए । सरकारी अस्पतालको अपहरण पछि धरान नेपाल कै एउटा यस्तो उपमहानगरपालिका बन्यो जहाँ एउटै सरकारी अस्पताल छैन ।
धरान अस्पताल अपहरणको कथा
हाल धरान–१८ मा रहेको बिपिकेआइएस भएको स्थानमा बेलायत सरकारको Army Recruitment Office / British Military Hospital (BMH) सञ्चालित थियो । बेलायत सरकारसंगको संझौता अवधि सकिएपछि त्यही संरचना र स्थानमा नेपाल सरकार स्वास्थ्य विभागले ‘पूर्वाञ्चल क्षेत्रिय अस्पताल’ सञ्चालन गरयो र धरान अस्पताललाई स्वास्थ्य विभागले छाताचोकबाट उठाएर सोही क्षेत्रीय अस्पतालमा लगेर गाभिदियो ।
वि.सं.२०४९ मा बिपिकेआइएस ऐन तयार भई सो प्रतिष्ठान सोही स्थानमा स्थापना हुने सरकारी निर्णय भएपछि त्यहाँ भएको सो क्षेत्रीय अस्पतालले भवन र जग्गा खाली गर्नुपर्ने भयो । त्यसपछि पूर्वाञ्चल क्षेत्रीय अस्पताललाई धरानबाट झिकेर विराटनगरस्थित कोशी अञ्चल अस्पतालमा लगेर गाभियो । शुरुमा धरान अस्पताललाई पूर्वाञ्चल क्षेत्रीय अस्पतालमा गाभेर छाताचोकबाट घोपा सारियो ।
घोपाबाट क्षेत्रीय अस्पताल विराटनगर बसाई सारिँदा हाम्रो धरान अस्पताल पनि त्यसले बोकेरै गएपछि धरान अस्पतालको अस्तित्व विराटनगर कोशी अञ्चल अस्पतालमा विलय गराइयो । यसरी षडयन्त्रपूर्ण ढंगले धरानलाई सरकारी अस्पतालबिहीन बनाइयो । त्यति मात्र होइन अस्पताल बनाउन भनेर दाताहरुले दिएको धरान अस्पतालको जमीन र दाताहरुबाट नै निर्माण भएका भवनहरु समेत सरकारी षडयन्त्रपूर्ण प्रपञ्चबाट पिकेआइएसका नाममा सुम्पिने अवैध काम गरिएको छ ।
आदरणीय नगर सरकार प्रमुख ज्यू,
हाल धरानमा रहेको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका सेवाहरु आम नागरिकका लागि एकदमै जटिल भइरहेको र साह्रै धेरै समय लाग्ने अवस्था हुन गएको तथा अस्पताल आफैं विभिन्न समस्याहरुमा जकडिएका कारण उपचार पद्दति समेत अपूर्ण हुने गरेको बारेमा यहाँ स्वयम् पनि पूर्ण जानकार हुनुहुन्छ । एक सिनेटरका नाताले यहाँले सुधारका निम्ति चाल्नुभएका कदमहरुबाट पनि बिपिकेआइएसमा कुनै सुधार हुन नसकेको यथार्थ सम्पूर्ण धरानबासीहरुमा छर्लङ्गै छ ।
बिपिकेआइएस आफैंमा एउटा विशाल प्रतिष्ठान त होला तर यो प्रतिष्ठान आफैं एकातिर रााजनीतिक हस्तक्षेप र खिचातानीको चपेटामा परेको छ भने अर्कातिर भ्रष्टाचार र कमिसनको जालोमा फसेर सापे भएको छ । यस प्रतिष्ठानका कुनै पनि सेवाहरु आम नागरिकका लागि सुलभ र सहज भइरहेका छैनन् । अतः धरान नगरमा आफ्नै एउटा सरकारी अस्पताल अनिवार्यरुपमा चाहिने कुरामा हामी प्रष्ट भइसकेका छौं ।
हामी विनम्रतापूर्वक धरानबाट खोसिएको उक्त सरकारी अस्पताललाई धरान नगर अस्पतालका रुपमा पुनस्थापित गर्न यहाँको अहम् भूमिका हुने कुरा अनुरोध गर्न चाहन्छौं । उक्त अस्पताल पुनस्थापना तथा सञ्चालन गर्ने अभियानमा यहाँलाई सबैखाले साथ र सहयोग गर्न पनि सम्पूर्ण धरानबासीहरु तयार रहेका छन् । अतः तपाइको अगुवाइमा ‘धरान नगर अस्पताल’ स्थापना गर्ने पुनीत काम प्रारम्भ होस् भन्ने हाम्रो चाहना छ ।