Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानमा मन्त्री आएर ठेकेदारलाई दिए अन्तिम चेतावनी, छड्के अनुगमन, कालोसूचीमा राख्ने तयारी

हाम्रो कोशी आवाज
चैत्र १४ २०८१, बिहिबार
धरानमा मन्त्री आएर ठेकेदारलाई  दिए अन्तिम चेतावनी, छड्के अनुगमन, कालोसूचीमा राख्ने तयारी

धरानः पटकपटक म्याद थप गरेर पनि समयमै निर्माण सम्पन्न नगर्ने दुई निर्माण व्यवसायीलाई भौतिक पूर्वाधार विकास मन्त्रालय कोशी प्रदेशले अन्तिम चेतावनी दिएको छ ।
सुनसरीको धरान–५ देवीगाउँ सिरान लेदुवाको १५ मिटर लामो सडक पुल र संखुवासभाको खाँदाबारी मानेभन्ज्यांग–चन्दनपुर–हेलुवाबेसी जाने १४.४२ किलोमिटर सडक निर्माण नगर्ने निर्माण कम्पनीलाई मन्त्रालयका मन्त्री भुपेन्द्र राईले अन्तिम चेतावनी दिएका हुन् ।
मन्त्री राईसहित मन्त्रालयको टोलीले दुवै निर्माण कम्पनीलाई निर्धारित समयमा काम नसके ठेक्का तोडेर कालोसूचीमा राख्ने बताएका छन् । आयोजनास्थलमै सार्वजनिक सुनुवाई गरेर काम समयमै सम्पन्न गर्ने सर्वपक्षीय निर्णय भएको राईले जानकारी दिए ।
पूर्वाधार विकास कार्यालय, मोरङको कार्यक्षेत्रमा पर्ने सुनसरीको धरान–५ देवीगाउँ सिरान लेदुवाको १५ मिटर लामो सडक पुल वल्र्ड ट्रेड कन्स्ट्रक्सन कम्पनी प्रा.लि. दमक झापाले १ वर्षमा सक्ने गरी २०७७ साउन ८ गते सम्झौता गरेको थियो । १ करोड २१ लाख ८५ हजार ८१३ रुपैयाँमा ठेक्का लागेको भएपनि उक्त पुल निर्माण समयमै नहुँदा दोस्रो पटक २०८० असार ३० गते एक वर्षको लागि म्याद थप भयो । तर, आउँदो असार अन्तिमसम्ममा निर्माण सम्पन्न नहुने देखेपछि मन्त्रीले ताकेता गरेका हुन् । उक्त पुल निर्माण समयमै सक्ने र जेठ अन्तिममा हस्तान्तरण गरिसक्ने निर्माण कम्पनीले प्रतिबद्धता जनाएको मन्त्री राईले जानकारी दिए ।
हालसम्म उक्त पुल निर्माणको लागि पूर्वाधार विकास कार्यालय मोरङले ८९ लाख ५० हजारभन्दा बढी रकम निर्माण कम्पनीलाई भुक्तानी गरिसकेको छ । पूर्वाधार विकास कार्यालय मोरङका प्रमुख सुशील श्रेष्ठले निर्माण व्यवसायीद्वारा पटक पटक बिना कारण निर्माण कार्य बन्द गर्नु र समयमै ठेक्का सम्पन्न गर्ने तर्फ कुनै चासो नदिनुलाई समस्या मानेको छ । निर्माण व्यवसायीद्वारा व्यवस्थापकीय बैठक तथा निर्माण कार्य समयमै सम्पन्न गर्ने सम्बन्धि प्रतिबद्धता अनुरुप कार्य नगरेको पनि उनले बताए । यस्तै ठेक्का अन्त्य किन नगर्ने भनेर कार्यालयले पत्राचार गर्दा समेत जवाफ नदिएको उनले बताए ।
उता, संखुवासभाको खाँदबारीस्थित मानेभन्ज्याङ्ग–चन्दनपुर–हेलुवाबेसी सडक पनि जिर्ण छ । प्रदेश सरकारसँग २०७७ कार्तिक ५ गते २ वर्षमा सक्ने गरी निर्माण व्यवसायी कम्पनीहरू याक्थुमहाङ–खाम्पाचे चाबहिलले जोइन्ट ठेक्का लिएका थिए ।
४४ करोड ७ लाख २४ हजार रुपैयाँमा ठेक्का लागेको उक्त सडक समयमै सम्पन्न नहुँदा स्थानीयले सास्ती पाएका छन् । दोस्रो पटक म्यास थप गरेर २०८१ वैशाख ३० गतेसम्ममा सक्ने भनिएको भएपनि उक्त सडक निर्माण अझै सकिएको छैन । तर, हालसम्म २३ करोड ३१ लाख ८५ हजार रुपैयाँ भने भुक्तानी भइसकेको छ । हालसम्म पर्खाल तथा नाला र कल्भर्ट निर्माण भएको तथा सब–बेस ओछ्याउने, रोल गर्ने तथा कम्प्याक्शन गर्ने कार्य भइरहेको मन्त्रालयले जनाएको छ । मन्त्री राईसहितको टोलीले दुई दिन अगाडि त्यस स्थानमा पुगेर सार्वजनिक सुनुवाई गरेको छ । त्यसक्रममा निर्माण व्यवसायी, स्थानीय र सरकारका प्रतिनिधिहरूबीच १ वर्षभित्र काम सकिसक्ने निर्णय गरेको छ ।

प्रकाशित मिति: चैत्र १४ २०८१, बिहिबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend