धरानः धरान उपमहानगरपालिकामा फेरि पनि खानेपानीको हाहाकार नहोस् भनेर आफूहरु हरतरहले लागिपरेको धरान खानेपानी व्यवस्थापन बोर्डका कार्यकारी निर्देशक राजु पोखरेल बताएका छन् ।
खानेपानी अभावका विषयमा जानकारी दिँदै निर्देशक पोखरेलले जंगलको मोटरको पम्प पडकिएको कारणले केही समस्या भएको भएपनि अहिले त्यो समस्या समाधान भइसकेको बताए । उनका अनुसार खानेपानी तान्ने एउटा पम्प पडकिएको थियो । पम्प पडकिएपछि खानेपानी वितरण प्रणालीमा केही समस्या आएको उनले बताए । खानेपानी यसपटक खानेपानी हाहाकार नहोस् भनेर पम्पको जोहो गर्दै स्टकमा समेत राखिसकेको समेत उनले जानकारी दिए ।
यसअघि महिनौंदेखि खानेपानी अभाव हुने गरेको र धरानमा केही हप्तादिनदेखि भने केही अभाव हुँदै गएको तर त्यसको समाधानका लागि प्रयासरत रहेको उनको भनाइ छ । ‘पानी अभाव हुन थाल्यो, पम्प बिग्रिएको बहाना बनाइँदैछ भन्ने पनि जनताको गुनासो सुनियो तर अन्य पम्पको जोहो अर्थात् स्टक भइसकेको छ, पडकेको पम्पको मर्मत भइसकेको छ’, उनले भने ।
उनले यसअघि कोकाह १ परियोजनामार्फत् ल्याइएको पानीले पनि केही भरथेग भएको दावी गरे । उनका अनुसार केही हप्ताभित्रै कोकाह २ परियोजनामार्फत् धरानको विष्णु ट्याङ्कीमा पानी झारिनेछ । विष्णु ट्याङ्कीबाट सिधै पम्पिङ गरी सुम्निमा र स्वस्तिका चोकको ट्याङ्कीमा पानी झार्ने सिष्टम तयार गरिसकेको समेत उनको भनाइ छ । उनले त्यो पानी आइसकेपछि धेरै राहत हुने र यसपटक धरानमा खानेपानीको हाहाकार नहुने उनको दावी छ ।
यस्तै, प्रदेश सरकारले विनियोजना गरेको रकमबाट धरानको खानेपानी समस्या न्युनीकरण गर्न डिप बोरिङको काम पनि भोलिदेखि शुरु हुने उनको भनाइ छ । डिप बोरिङको लागि ‘इलेक्ट्रो मेकानिकल’ को काम ठेक्का ‘प्रोसेस’ मा रहेको र केही ढिलाइ भएको उनले बताए । ‘प्रदेशको खानेपानी प्रमुखले फोन गर्नुभएको थियो–तपाईहरुकोमा कन्ट्याक्टर आइसकेको छ, भोलिदेखि सामानहरु झार्ने काम शुरु हुन्छ भन्नुभएको छ’, उनले भने ।
धरान १७ स्थित उदय सामुदायिक वन क्षेत्रको कुम्भीआहाल तलतिर डिप बोरिङको लागि ड्रिलिङ कार्य भइसकेको छ । प्रदेश सरकारको ४ करोड बजेटमा सो काम भएको हो । कोशी राजमार्ग चारकोशे जंगल क्षेत्रमा पहिलो र दोस्रो डिप बोरिङ गरिएको छ भने कुम्भीआहालमा तेस्रो डिपबोरिङ हो । जमिनमुनि २ सय मिटर तलसम्म ड्रिलिङ गरेर त्यहाँ पानीको सफल परीक्षण समेत भइसकेको छ । तीन ठाउँमा डिप बोरिङ गर्न १ करोड ५२ लाखमा श्रीमन ड्रिलिङ कन्स्ट्रक्सन प्रालिले ठेक्का पाएको थियो । डिप बोरिङसँगै साविकको योजनामा जडान गर्न पनि पाइप खरिदको टेण्डर भइसकेको छ ।
डिप बोरिङ गर्दा खानेपानीको स्रोत थपिने भएपनि पूर्णरुपमा धरानको समस्या हल नभएपनि तत्कालको लागि राहत मिल्ने निर्देशक पोख्रेल बताउँछन् । हाल धरानमा दैनिक ३ लाख लिटरभन्दा बढी पानीको माग रहेको छ । पम्प पूर्णरूपमा चल्दा करिब २ लाख लिटर पानी आउँछ भने अन्यतिर (कोकाह, नयाँ सञ्चालनमा ल्याइने डिप बोरिङको पानी) बाट थपिने पानीको स्रोतले केही राहत हुने उनको भनाइ छ ।
धरान उपमहानगरपालिकाले दीर्घकालीनरूपमा पर्याप्त खानेपानी वितरण गर्न नसकेका कारण यहाँ वर्षेनी खानेपानीको समस्या हुने गर्छ । करिब दुई वर्ष अगाडि एसियाली विकास बैंक (एडीबी)को २ अर्ब आर्थिक सहयोगमा नयाँ खानेपानी आयोजना सम्पन्न गरिएको थियो । यसमार्फत भूमिगत पानी उत्पादन गरिए पनि धरानवासीले पर्याप्त खानेपानी पाउन सकेका छैनन् ।