धरानः धरानका युवासहित अन्य युवामा ब्राउन सुगर भेटेपछि पक्राउ परेका छन् ।
मोटरसाइकल, स्कुटी र पैदल समेत हिँडेर आउँदै गर्दा उनीहरु बाटैमा पक्राउ परेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । प्र.१–०२–०५५ प ३४१ नम्बरको स्कुटर चालक धरान उपमहानगरपालिका वडा नं. १७ वस्ने २८ वर्षीय बेगराज लिम्बूको साथबाट प्लाष्टिकसहित ३.८२ ग्राम ब्राउन सुगर भेटिएपछि उनीसहित ९ जना पक्राउ परेको जिल्ला प्रहरी कार्यालय सुनसरीका एसपी सुमनकुमार तिम्सिनाले जानकारी दिए ।
यस्तै, इटहरी–२ बस्ने २७ वर्षीय मोटरसाइकल चालक निरज लिम्बूले मलद्वारमा लुकाएर ल्याएको ३.५६ ग्राम ब्राउन सुगर भेटिएको उनले जानकारी दिए ।
लागूऔषध नियन्त्रण ब्यूरो विराटनगर र इलाका प्रहरी कार्यालय लौकही सुनसरीबाट संयुक्तरुपमा खटिएको प्रहरी टोलीले सुनसरीको कोशी गाउँपालिका वडा नं. १ भन्सार कार्यालयअगाडि भारतबाट नेपालतर्फ शंकास्पदरुपमा मोटर साइकल तथा पैदल आउँदै गरेका उनीहरुमाथि निगरानी राख्दै चेकजाँच गर्दा लागूऔषध ब्राउन सुगर भेटिएको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा इटहरी–१६ बस्ने ३४ वर्षीय मनोजकुमार चौधरी पनि रहेको प्रहरीले जनाएको छ । उनको साथबाट प्लाष्टिकसहित ३०.५९ ग्राम ब्राउन सुगर भेटिएको प्रहरीको भनाइ छ । इटहरी–६ बस्ने २३ वर्षीय सनम तामाङ साथबाट २६ ग्राम, सुनसरीको रामधुनी–९ बस्ने १६ वर्षीय आदित्या चौधरीको साथबाट २.१ ग्राम, रामधुनी–२ बस्ने २६ वर्षीय मनिष चौधरीको साथबाट २.५६ ग्राम, रामधुनी–५ बस्ने २६ वर्षीय विज्ञान साहको साथबाट ३५.८८ ग्राम ब्राउन सुगर फेला परेको प्रहरीले जनाएको छ । उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।