धरानः प्रहरीले इटहरी उप महानगरपालिकाको गेटअगाडि बम राखेको भन्दै अफवाह फैलाउने दुईजना पक्राउ परेका छन् । प्रहरीको विशेष टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।
सुनसरीको कोशी गाउँपालिका–८ भाण्टाबारीमा लुकीछिपी बसेको अवस्थामा सुनसरीको इटहरी उपमहानगरपालिका वडा नं. ४ बस्ने ३६ वर्षीया लक्ष्मीदेवी थापा र झापाको दमक नगरपालिका वडा नं. १ बस्ने ४७ वर्षीय सञ्जय भन्ने खगेन्द्र खरेललाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका एसपी सुमनकुमार तिम्सिनाले जानकारी दिए ।
उनीहरुलाई पक्राउ गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । जब सुनसरी प्रहरीलाई बम विष्फोट हुँदैछ, हाम्रो अभियान मान्छे मार्ने होइन पुल उडाउने हो भन्ने म्यासेज आएपछि उनीहरुलाई खोजेर पक्राउ गरिएको प्रहरीले जनाएको छ । लुकीछिपी बसेका खरेल र थापालाई भारतमा लुकिछिपी बसेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो ।
गत पुस १६ गते ९८१४३४७२९० मोबाइल नम्बरबाट बुढीखोला, भोटेपुल मुनि र नगरपालिका अगाडि पान दोकानको छेऊमा कालो झोलामा बम राखिएको छ र सो बम बिष्फोट हुँदैछ भन्दै उनीहरुले आतंकित बनाएको प्रहरीको भनाइ छ । त्यस्तो म्यासेज इलाका प्रहरी कार्यालय पकली र इटहरीको सियुजी नम्बरमा प्राप्त भएको थियो । एसपी तिम्सिनाको टोलीले त्यतिबेला इटहरी उपमहानगरपालिका–६ स्थित उपमहानगरपालिकाको गेट अगाडि पान पसल छेउमा शंकास्पद एउटा कालो झोलाभित्र भरिएको अवस्थामा फेला परेको थियो ।
श्री भगवतीदल गण इटहरीबाट खटिएको नेपाली सेनाको टोलीले डिस्पोज गर्न खोज्दा झोलाभित्र फेला परेको कुकरभित्र सलाई, सलाइको बारुद जस्तो पदार्थ र केही तारहरु फेला पारी पूर्णरुपमा डिस्पोज गराएको थियो ।
प्रहरीले खरेल र थापा सुनसरी र झापामा पटक पटक विस्फोट पदार्थ राख्ने र हल्ला फैलाउने कार्यमा संलग्न रहेको पाइएको प्रहरीले जनाएको छ । दुई स्थानमा बम राखेको सूचना दिएर खरेल भागेर भारत पुगेका थिए ।
खरेल २०७६ वैशाख २८ गते गोर्खा जनमुक्ति पार्टीको नाममा झापाको कनकाई नदी पुलमा बम राखेको आरोपमा पक्राउ परेको र २ वर्ष पाँच महिना कैदपछि झापा कारागारबाट उनी छुटेका थिए ।
२०७८ माघ माघ ९ गते बिर्तामोडस्थित पश्चिम बस बिसौनी र माघ १३ गते दमकस्थित सिवान चर्चमा हिमाल सुरक्षा परिषद्को पर्चासहित प्रेसरकुकर बम राखेको घटनामा उनी पक्राउ परेका थिए । बम राखेर जनजीवन त्रसित पार्ने कार्यमा उनीहरूकै संलग्नता देखिएपछि जिल्ला प्रहरी कार्यालयले उनीहरूलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । कारागारबाट छुटेपछि खरेल आफैले पुस १६ गते इटहरी उपमहानगरपालिका अगाडि र बुढी खोला पुल नजिक बम राखेको भन्दै अफवाह फैलाएका थिए ।