धरानः धरानमा पूरा निर्माण भइनसकेको श्रम संस्कृति पार्कले अहिले चर्चा कमाइरहेको छ ।
धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई साम्पाङको नेतृत्वमा श्रमदान अभियानमार्फत् देशविदेशमा रहेका सयौं धरान र धरान बाहिरका जनताको सहयोगमा अहिले पनि निर्माणकै चरणमा रहेको सो पार्कमा नयाँ वर्षमा पर्यटकको भीड बढेको हो । पार्क अहिले धरान र धरान बाहिरका पर्यटकहरूका लागि प्रमुख आकर्षणको केन्द्र बन्न पुगेको छ ।
बगरको छेऊछाऊका उराठलाग्दो ठाउँलाई कलात्मक ढङ्गले सिङ्गारिएपछि अहिले त्यहाँ आन्तरिक र बाह्य पर्यटकको घुइँचो बढेको मूर्तिकार रोजन राई बताउँछन् । विभिन्न जातका फलफूल, विरुवा, कलाले भरिपूर्ण मूर्ति, वाटर फाउन्टेन, गोर्खा चौतारी, धरान चिनाउने आरा धरानलगायतका अन्य विभिन्न गार्डेनहरु निर्माण भएपछि अहिले पर्यटकको आँखा त्यहाँ पुगेको छ । ‘विशेषतः मन भुलाउने गन्तव्य नै बनेको छ’, मेयर साम्पाङ भन्छन् ।
धरानबाहिर झापा, मोरङ, उदयपुर, धनकुटालगायतका स्थानबाट सयौं पर्यटकले गर्दा अहिले धरान उपमहानगरपालिकाको आम्दानीको गतिलो स्रोत समेत बनेको छ । टिकटबाट नयाँ वर्षमामात्रै यसपटक करिब ३ लाख रुपैयाँ संकलन भएको छ । टिकटबाट फागुन महिनामा मात्रै ८४ हजार रुपैयाँ संकलन भएको छ ।
सचेत धराने समूहद्वारा निर्मित एसडिएस रक गार्डेन, स्वतन्त्र नागरिक समाजले निर्माण गरेको एसएनएस चौतारी, स्वतन्त्र दिदीबहिनीले निर्माण गरेको एसडिबी रोज गार्डेन, लाहुरेहरुको प्रयासमा निर्माण हुँदै गरेको गोरखा चौतारी, आरा धरान आदि संरचनाले धरानलाई चिनाउँदै राजश्व समेत संकलन हुँदै आएको छ ।
नयाँ वर्ष २०८२ सालको पहिलो दिन बैशाख १ गते श्रम संस्कृति पार्कलगायतका क्षेत्रमा घुम्न आउने पर्यटक तथा पाहुनाहरुको घुइँचो लागेको थियो ।
कोशी प्रदेश सरकारले २०८२ साललाई कोशी पर्यटन वर्षको रूपमा मनाउने घोषणा गरेको छ । यसले पनि पर्यटन वर्षलाई सघाउने पुरयाउने र यस क्षेत्रलाई पर्यटकीय गन्तव्यका रुपमा समेट्नुपर्ने बराहक्षेत्र निवासी भुईँकवि बताउँछन् । सम्भावना धेरै रहँदारहँदै पनि कोशी प्रदेशका धेरै गन्तव्यमा पर्याप्त पर्यटक पुग्न सकेका छैनन् ।
तस्वीरहरुः हाम्रो कोशी आवाज

















