धरानः कार आफै अनियन्त्रित भई दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने तीनजना घाइते भएका छन् ।
इटहरी-२० पानीपिया जंगलस्थित कोशी लोकमार्गमा धरानबाट इटहरीतर्फ जाँदै गरेको बाग्मती प्र–०१–०३० च ४६१८ नम्बरको कार आफै अनियन्त्रित भई सडकबाट पूर्वपट्टि रहेको जामुनको रुखमा ठोक्किन पुगेको थियो । दुर्घटनामा परी मृत्यु हुनेमा इटहरी उपमहानगरपालिका ४ का ४० वर्षीय विष्णु राउत रहेको प्रहरीले जनाएको छ । कारमा सवार उनको बोल्न समेत नसक्ने अवस्थामा धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, इटहरी सञ्चार शाखाले जनाएको छ ।
दुर्घटनामा अन्य तीनजना घाइते समेत बनेका छन् । चालक रामधुनी नगरपालिका ७ बस्ने ३० वर्षीय विवेक लामाको खुट्टामा सामान्य चोट रहेको र उपचारपश्चान प्रहरी नियन्त्रणमा छन् । कारमा सवार इटहरी उपमहानगरपालिका ४ बस्ने ४३ वर्षीय गंगा बस्नेत दाहिने खुट्टा फ्याक्चर, इटहरी–१ बस्ने ३१ वर्षीय कल्याण कटवाल हात खुट्टामा चोट रहेको र अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।
कारको केही कागजपत्र नखुलेको र तीब्रगतिका कारण दुर्घटना भएको पाइएको प्रहरीले जनाएको छ । शनिबार राति करिब ११ बजे सो दुर्घटना भएको हो ।
