धरानः मोरङको कानेपोखरी गाउँपालिका–७ मा यात्रुबाहक बसले मोटरसाइकललाई ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ भने मोटरसाइकल चालक गम्भीर घाइते भएका छन् ।
झापाको काकडभिट्टाबाट धरानतर्फ आउँदै गरेको गोर्खा यातायातको को१ख ७४८२ नम्बरको बसले विपरीत दिशाबाट आइरहेको स४प ५८४१ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको इलाका प्रहरी कार्यालय पथरीका डीएसपी मोहनविक्रम दाहालले जानकारी दिए ।
दुर्घटनामा परेर मोटरसाइकलको पछाडि सवार उदयपुर बेलका नगरपालिका–४ की करिब ५५ वर्षीया कुमारी आचार्यको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । मोटरसाइकल चालक इटहरी उपमहानगरपालिका–४ का करिब ३५ वर्षीय हरि शर्मा गम्भीर घाइते भएका छन् र उनलाई उपचारका लागि विराटनगर पठाइएको छ ।
प्रहरीका अनुसार मृतक र घाइते दिदी–भाइ हुन् । दुर्घटनापछि बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । बस चालक झापा कन्काई नगरपालिका–४ का ५१ वर्षीय सुमनलाल चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।