बिर्तामोडः झापाको भद्रपुरमा स्कुटी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भद्रपुर नगरपालिका–२ स्थित गौरीशंकर निवासी ३५ वर्षीय अनिल लिम्बू रहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार आइतबार राति पौने ९ बजेको समयमा मेची राजमार्गको चारआली केचना सडक खण्डअन्तर्गत भद्रपुरबाट बनियानीतर्फ गइरहेको प्र १–०१–०१२ प ९९३७ नम्बरको स्कुटी भद्रपुर–४ स्थित झापा चोकदेखि दक्षिण तल बाहुन गाउँमा अनियन्त्रित भएर दुर्घटना भएको थियो ।
दुर्घटनामा परी स्कुटी चालक दमक नगरपालिका–२ का २९ वर्षीय रबिन फुयाँल सकुशल रहेको र स्कुटी पछाडि लिम्बूको टाउकोमा गम्भीर चोट लागेकोले उपचारका लागि तत्काल प्रादेशिक अस्पताल भद्रपुरमा पठाइएको थियो । लिम्बूको उपचारको क्रममा राति नै मृत्यु भएको प्रहरीले जनाएको छ ।
सडक नालामा गएर ठोक्किँदा स्कुटरको अगाडिको भाग क्षतिग्रस्त बनेको छ । विदेश जानका लागि बिर्तामोडको एक म्यानपावर पुगेर उनीहरू घर फर्किँदै थिए ।
लिम्बूलाई स्कुटी चालक फुयाँल घर छोड्न आएका थिए । स्थानीयका अनुसार पानी परिरहेको र बिजुली पनि गएको अवस्थामा सो स्कुटर अनियन्त्रित भएर सडक छेउको नालामा खसेर दुर्घटना भएको थियो । प्रहरीले स्कुटी र चालक फुयाँललाई नियन्त्रणमा लिएको छ ।