धरानः उदयपुरको बेलका नगरपालिका-८ कोठु स्थित सप्तकोशी नदीमा पुलबाट हाम्फालेर एकजनाको ज्यान गएको छ ।
सुनसरीको बराहक्षेत्र नगरपालिका-१ का ५२ वर्षीय मकरजंग राई सप्तकोशी नदीको पुलबाट हाम फालेको भनी अस्थायी प्रहरी पोष्ट कोठुमा जानकारी हुनासाथ तत्काल उद्दारमा खटिएको प्रहरी टोलीले राईलाई नदीबाट निकाली उपचारको लागि धरानस्थित बीपी प्रतिष्ठान ल्याइपुरयाएको थियो । उनको उपचारको क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
यस्तै, उदयपुरमा चट्याङ लागेर एकजना र खोटाङमा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ । उदयपुरको कटारी नगरपालिका-८ का मानबहादुर मगरको १२ वर्षीय छोरा चित्रबहादुर मगर घरनजिकै रहेको जंगलमा बाख्रा चराउन गएको अवस्थामा वर्षासंगै परेको चट्याङले लागेर घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ ।
खोटाङको ऐसेलुखर्क गाउँपालिका ७ का ३९ वर्षीय विकास राईले बिद्युतको पोलमा रहेको ट्रान्सफर्मरमा फ्युज जोड्ने क्रममा करेन्ट लाग्दा उनको घटनास्थलमा नै मृत्यु भएको हो । घटनास्थलमा जिल्ला प्रहरी कार्यालय खोटाङबाट प्रहरी अधिकृत सहितको टोली खटी मृतक लाशको पोष्टमार्टम पश्चात आफन्तलाई जिम्मा बुझाएको र घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।