धरानः नेपाल चिकित्सक संघले सोमबार देशभरका अस्पताल तथा स्वास्थ्य संस्थाहरूमा आकस्मिकबाहेकका सम्पूर्ण सेवा बन्द गर्ने घोषणा गरेसँगै ऐक्यबद्धता जनाउँदै धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पनि बन्द हुने जनाइएको छ । सह-प्रवक्ता डा. अभिजीत कुमारद्वारा जारी सूचनामा सोमबार एकदिन प्रतिष्ठानको सेवा बन्द रहने जनाइएको छ ।
उपचारमा लापरबाही गर्ने स्वास्थ्य संस्था र डाक्टरहरूलाई उपभोक्ता अदालतले क्षतिपूर्ति भराउने फैसला गरेसँगै त्यस्तो फैसलालाई नै चुनौती दिँदै चिकित्सक संघ आन्दोलित बनेको हो । नेपाल चिकित्सक संघको नेतृत्वमा हाल चिकित्सकीय अभ्याससम्बन्धी मुद्दाहरूमा उपभोक्ता अदालतबाट भएको निर्णयप्रति आपत्ति जनाउँदै विभिन्न संघ–संस्थाहरू, स्वास्थ्यकर्मी संगठनहरू तथा सरोकारवालाहरूको समन्वयमा चरणबद्धरूपमा जारी आन्दोलनका कार्यक्रमहरू सार्वजनिक गरेका छन् ।
