झापाको अर्जुनधारा नगरपालिकामा सामूहिक आक्रमणबाट १ जना युवतीको हत्या भएको छ ।
पति अर्की युवतीको कोठामा गएको थाहा पाएपछि पत्नीले साथीहरूको सहयोगमा ती युवतीमाथि आक्रमण गराउँदा घटना भएको हो । मृत्यु हुनेमा अर्जुनधारा नगरपालिका–४ भाङवारी घर भइ अर्जुनधारा–८ शनिश्चरे क्याम्पस नजिक डेरा बस्दै आएकी २२ वर्षीया गंगा राई रहेको इलाका प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ।
प्रहरीका अनुसार घटना मंगलबार राति करिब ११ः३० बजेतिरको हो । भोजपुरको रामप्रसादराई गाउँपालिका–६ वैकुण्ठे स्थायी घर भइ अर्जुनधारा–८ मा बस्दै आएकी ३२ वर्षीया सुस्मिता भुसालले आफ्ना पति रमेश भुसाल गंगाको कोठामा गएको थाहा पाएपछि टोलका केही महिलाहरूलाई बोलाएर सामूहिक रूपमा गंगामाथि आक्रमण गराएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
प्रहरीका अनुसार सुस्मिताले ५४ वर्षीया मैया श्रेष्ठ, ३८ वर्षीया बबिता विक, २४ वर्षीया मेनुका पाँचकोटी र ६० वर्षीया नर्बदा सुनदासलाई बोलाएर आक्रमण गराएको पाइएको छ । सामूहिक रूपमा कुटपिटबाट गंगा गम्भीर घाइते भएकी थिइन् ।
घाइते गंगालाई सुरुमा शनिश्चरेस्थित शंकर अस्पतालमा लगिएको थियो। त्यहाँ सामान्य उपचारपछि थप उपचारका लागि बिर्तामोडको बिर्तासीटी अस्पताल लगिएको थियो । तर, उपचारकै क्रममा बुधबार बिहानका राति १ः२० बजेतिर उनको मृत्यु भएको बिर्तामोड प्रहरीका प्रमुख डीएसपी विजय श्रेष्ठले बताए ।
प्रहरीका अनुसार घटनापछि सुस्मिता भुसालसहित कुटपिटमा संलग्न रहेका ५ महिला र सुस्मिताका पति रमेश भुसाललाई नियन्त्रणमा लिइएको छ। प्रहरीले उनीहरूलाई हिरासतमा राखेर घटनाको विस्तृत अनुसन्धान अघि बढाएको छ।
प्रारम्भिक अनुसन्धानका क्रममा घटना योजनाबद्ध रहेको र व्यक्तिगत रिसईबीका कारण आक्रमण गरिएको पत्ता लागेको छ । प्रहरीका अनुसार रमेश र गंगाबीच चिनजान रहेको पाइए पनि उनीहरूको सम्बन्धका बारेमा यकिन भइसकेको छैन ।
प्रहरीले आवश्यक कानुनी प्रक्रिया अघि बढाइसकेको छ । घटनामा संलग्न सबैबाट बयान लिँदै सीसी क्यामेरा फुटेज, मोबाइल कल डिटेल्स र डीजीटल प्रमाण संकलनको काम थालिएको प्रहरीको भनाइ छ ।
घटनामा संलग्नविरुद्ध कर्तव्य ज्यान मुद्दा चलाउने प्रहरीको तयारी छ । प्रहरीले यो घटनालाई पारिवारिक सम्बन्धमा उत्पन्न दरार, असहिष्णुता र हिंसात्मक प्रतिशोधको घातक परिणतिका रूपमा लिएको छ ।