बिर्तामोडः मोटरसाइकल र स्कुटर एक आपसमा जुध्दा दुईजनाको मृत्यु भएको छ ।
बुधबार बाह्रदशीमा मोटरसाइकल र स्कुटर एक आपसमा ठक्कर खाँदा दुई जना सख्त घाइते समेत भएका छन् । बाह्रदशी गाउँपालिका–१ खयरबारीस्थित भित्री सडक खण्डमा बीआर ३७एजेड ६४४० नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको प्र. १–०१–०१६प९२७० स्कुटर एक आपसमा जुध्दा दुर्घटना भएको झापा प्रहरीका प्रवक्ता डीएसपी खगेन्द्रबहादुर खड्काले जानकारी दिए ।
मृत्यु हुनेमा स्कुटर चालक कचनकवल ३ डाकुपारा बस्ने ६० वर्षीय श्रीप्रसाद राजवंशी रहेका छन् । सोही स्कुटरमा सवार उनकी बुहारी वर्ष २७ की उर्मिला राजवंशी र नाति ३ वर्षीय आयुष राजवंशी गम्भीर घाइते भएका छन् । उनीहरुको बीएण्डसी अस्पताल बिर्तामोडमा उपचार भइरहेको छ ।
भारतीय मोटरसाइकल चालकको पहिचान खुल्न बाँकी छ । नाम, थर, वतन नखुलेका मोटरसाइकल चालकलाई उपचारको लागि प्रादेशिक अस्पताल भद्रपुर पठाइएकोमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घटनाबारे थप अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाउन जिल्ला प्रहरी कार्यालय झापाबाट प्रहरी निरीक्षकको नेतृत्वमा टोली खटिएको जिल्ला प्रहरीले जनाएको छ ।