धरानः अफवाह फैलाउने गरी घृणित अपमानजनक तरिकाले अश्लील शब्द प्रयोग गर्दै समाजमा सम्भावित धार्मिक हिंसा भड्काउन खोज्ने एक युवा पक्राउ परेका छन् ।
सामाजिक सञ्जाल टिकटिकमा धार्मिक विद्वेष फैलाउने उद्देश्यले अपमानजनक र अश्लील शब्द प्रयोग गरी भिडियो पोष्ट गर्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
पक्राउ पर्नेमा सुनसरीको कोशी गाउँपालिका–३, नहरचौक निवासी २२ वर्षीय साहिल अन्सारी रहेका छन् । उनले असार २४ गते धर्म विशेषप्रति अपमानजनक र उत्तेजक अभिव्यक्ति राखेर सामाजिक सद्भाव विथोल्ने आशयले भिडियो सम्प्रेषण गरेको आरोप लागेको छ ।
प्रहरीका अनुसार अन्सारीमाथि जिल्ला अदालत सुनसरीबाट विद्युतीय कारोबार ऐन २०६३ अन्तर्गत विद्युतीय अपराध शीर्षकमा म्याद थप गरिएपछि प्रहरीले सार्वजनिक गरेको हो । अदालतबाट तीन दिनको म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको सुनसरी प्रहरीले जनाएको छ ।