धरानः धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई स्वास्थ्य बीमा बोर्डले प्रथम सेवा विन्दुबाट हटाएपछि धरानबासी आन्दोलित भएका छन् ।
अब आउने साउन १ गतेदेखि स्थानीय, जिल्ला अस्पतालबाट सिफारिस लिएर आएका बीमित बिरामीहरूले मात्र प्रतिष्ठानमा बीमा सुविधा पाउने निर्णय गरेपछि धरानबासी आन्दोलित हुँदै सडकमा पुगेका हुन् ।
धरानमा प्रथम सेवाबिन्दु भएको अस्पताल नभएका कारण रेफर लिन जिल्ला अस्पताल पुग्नुपर्ने बाध्यता भएको हो । बोर्डको यो निर्णयले धरानवासीहरू आन्दोलनका कार्यक्रम लिएर सडकमा पुगेका हुन् ।
धरानमा जिल्ला वा स्वास्थ्य केन्द्र नभएको र एक मात्र बीपी प्रतिष्ठान अस्पताल भएकाले निर्णय तत्काल सच्याउन माग गर्दै धरानबासीले दबाव दिइरहेका छन् । धरानबासीले विरोध जुलुस प्रदर्शन, नाराबाजी, धर्नालगायतका कार्यक्रम गरिरहेका छन् ।
धरानमा क्रियाशील ५ राजनीतिक दलले स्वास्थ्य तथा जनसंख्यामन्त्रीलाई निर्णय सच्याउन माग राख्दै ध्यानाकर्षण समेत गराएका छन् । नेपाली कांग्रेसका सभापति श्याम पोख्रेल, नेकपा एमालेका अध्यक्ष हर्कजङ एभेङ, नेकपा माओवादी केन्द्रका अध्यक्ष उद्धव लिम्बू, जसपा नेपालका अध्यक्ष ताजुब लिम्बू, नेकपा एकीकृत समाजवादीका अध्यक्ष रेवतीरमण राईले संयुक्त हस्ताक्षर गरी नै मन्त्रीलाई ध्यानाकर्षण पत्र पठाएका हुन् ।
स्वास्थ्य बीमा बोर्डले प्रतिष्ठानलाई रेफर सेन्टरमा सीमित गरिदिएको छ । धरानका स्थानीयले स्वास्थ्य बीमा गरेपनि प्रतिष्ठानमै उपचार सेवा नपाउने भएका छन् । बीमा बोर्डले धरानमा सरकारी अस्पताल नभएको अवस्थामा अन्यत्र जिल्लाको सरकारी अस्पतालमा गएर रिफर गरेको कागज–पत्र बनाएर मात्र प्रतिष्ठानमा उपचार पाउने झन्झटिलो निर्णय गरेको छ ।
यसैबीच धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई (साम्पाङ) ले निर्णय फिर्ता नलिए अझै कडा आन्दोलनमा धरानबासी उत्रिन बाध्य हुने चेतावनी दिएका छन् । उनले प्रेस विज्ञप्ति जारी गर्दै हालै बीमासम्बन्धी अन्यायपूर्ण निर्णय भएको भन्दै बीपी प्रतिष्ठानलाई पहिलो अस्पतालको रुपमा यथावत् राख्नुपर्ने समेत उनले जनाए । उनले धरानबासीले अन्यत्र गई सेवा लिन नसक्ने जनाउँदै निर्णय फिर्ता लिन माग समेत गरे । ‘यस्तो निर्णयले सबै जनता आक्रोशित बनिरहेका छन्’, उनले भनेका छन्, ‘सो निर्णय फिर्ता नभए थप कडा आन्दोलनमा धरानबासी उत्रिने जानकारी गराउँदछु ।’
उनले धरान उपमहानगरपालिकाभित्रै आफूले नगर अस्पताल सञ्चालन गर्ने भनेर जोडतोडले लागेपनि प्रतिष्ठानले नै जग्गा फिर्ता नगरेको समेत बताए । उनले कार्यपालिका बैठकले छाताचोकस्थित पुरानो अस्पतालको जग्गा फिर्ता ल्याउनका लागि पहल गर्ने निर्णय गरेपनि हालसम्म सम्भव नभएको बताए । छाताचोकमा एक बिगाहा ४ कटठा जग्गा अहिले पनि प्रयोगविहीनजस्तै छ । धरान उपमहानगरपालिकाको स्वामित्वको जग्गा रहेको भएपनि सो जग्गा हाल प्रतिष्ठानको मातहतमा रहँदै आएको छ ।
धरानबासीले ३५ सय रुपैयाँ तिरेपछि स्वास्थ्य बीमा पाउँदै आएका छन् । स्वास्थ्य बीमा बोर्डले नगर अस्पताल वा अन्य सरकारी अस्पताललाई प्रथम सेवाविन्दु तोकेको छ । प्रतिष्ठानले २०७४ साउन १ गतेदेखि प्रथम सेवाविन्दु र रेफरल सेन्टर दुवै सेवा प्रदान गर्दै आएको छ । प्रथम सेवाविन्दुअन्तर्गत धरानवासीले सबैभन्दा बढी लाभ लिइरहेका छन् ।
प्रतिष्ठानका सह–प्रवक्ता डा. अभिजित कुमारले सूचना जारी गर्दै प्रतिष्ठानबाट स्वास्थ्य बीमा सेवा लिन प्रथम सेवाविन्दु तोकिएका अन्य सरकारी अस्पतालबाट रेफर लिएर आउन जानकारी गराएका छन् । उनका अनुसार यो निर्णयले प्रथम सेवाविन्दु सरकारी स्वास्थ्य संस्था मात्र रहने र प्रतिष्ठानमा उपचारका लागि रिफर गरिएको पुर्जी लिएर आउनेले मात्र सुविधा पाउनेछन् ।
