धरानः सुनसरीमा गोली हानी एक १७ वर्षीय किशोरीको हत्या भएको छ ।
सुनसरीको हरिनगर गाउँपालिका-६, घुस्कीमा १७ वर्षीया किशोरी अर्सी खातुनको गोली हानी हत्या गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । हत्या सोमबार बिहान करिब १ बजे घरमै भएको हो ।
सुनसरी प्रहरी प्रमुख एसपी सुमनकुमार तिम्सिनाका अनुसार किशोरीको टाउकोमा गोली हानिएको थियो । गोली प्रहारबाट गम्भीर चोट लागेकी खातुनको घटनास्थलमै मृत्यु भएको थियो । आफ्नै भिनाजुले सालीमाथि गोली प्रहार गर्दा १७ वर्षीया किशोरी अर्चना खातुनको घटनास्थलमै मृत्यु भएको छ । भारतको पूर्णिया जिल्ला, पत्राहा पञ्चायत–१६ घर भएका २९ वर्षीय आजात मियाँ जटले कटुवा पेस्तोलबाट गोली प्रहार गरेको एसपी तिम्सिनाले जानकारी दिए ।
वादविवाद बढ्दै जाँदा साली अर्चनामाथि गोली प्रहार गरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार गोली प्रहार गरे लगत्तै आरोपी आजाज मियाँ फरार भएका छन् । घटनापछि सुनसरी प्रहरी कार्यालयका डिएसपी योगराज खतिवडाको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेर अनुसन्धान थालेको छ । हत्याको कारण भने अझै रहस्यमय छ । एसपी तिम्सिनाले भने, ‘हत्याको उद्देश्य के थियो भन्ने खुलिसकेको छैन, हामी अनुसन्धानकै क्रममा छौँ ।’
घटनापछि भारतको सुपौल र सुनसरीको हरिनगरा नाकासहित सीमावर्ती क्षेत्रमा खोजतलास र निगरानी तीब्र पारिएको प्रहरीले जनाएको छ । अजाजको विगतमा विभिन्न आपराधिक समूहसँग सम्बन्ध रहेको सूचनाका आधारमा अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।
