धरानः इलामको माइजोगमाई गाउँपालिका–२ का २३ वर्षीय प्रकाश चापागाईलाई धारिलो हतियार छुरा प्रहार गरी हत्या गरेको र उनका दाजु ३२ वर्षीय निरोज चापागाईलाई छुरा प्रहार गरी घाइते बनाएको आरोपमा सूर्योदय नगरपालिका–१ का ३३ वर्षीय किरण शेर्पालाई प्रहरीले पक्राउ गरेको छ ।
सूर्योदय नगरपालिका–१ स्थित ससुराली घरमा आएका माइजोगमाई गाउँपालिका–२ का निरोज चापागाई र उनका भाई प्रकाश चापागाईलाई सूर्योदय नगरपालिका–१ का किरण शेर्पाले सामान्य वादविवादको क्रममा छुरा प्रहार गर्दा प्रकाश चापागाईको घटनास्थलमै मृत्यु भएको थियो भने निरोज चापागाई गम्भीर घाइते बनेका थिए । उनको झापास्थित बिएण्डसी अस्पताल बिर्तामोडमा उपचार भइरहेको छ ।
हत्यापश्चात् फरार भएका शेर्पालाई खोजतलासको क्रममा सूर्योदय नगरपालिका–१ मानेभञ्ज्याङ स्थितमा भाग्दै गरेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका शेर्पाको कर्तव्य ज्यान कसुरमा इलाका प्रहरी कार्यालय पशुपतिनगरबाट थप अनुसन्धान तथा कानूनी कारवाही भइरहेको प्रहरीले जनाएको छ ।