Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानका व्यवसायीहरूको घरभाडामा न्यूनतम गर्न प्रयासरत छौंः नवनिर्वाचित अध्यक्ष

हाम्रो कोशी आवाज
साउन ५ २०८२, सोमबार
धरानका व्यवसायीहरूको घरभाडामा न्यूनतम गर्न प्रयासरत छौंः नवनिर्वाचित अध्यक्ष

धरानः गत असार ३० गते सम्पन्न सुनसरी उद्योग वाणिज्य संघको निर्वाचनबाट निर्वाचित अध्यक्ष गोपाल श्रेष्ठलगायत पदाधिकारीलाई धरान उपमहानगरपालिका वडा नम्बर ३ को कार्यालयले शुभकामना तथा बधाई कार्यक्रम आयोजना गरेको छ ।
यसअघि धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई (साम्पाङ) को कार्यकक्षमा पनि निर्वाचित पदाधिकारीहरुका लागि शुभकामना आदानप्रदान कार्यक्रम आयोजना भएको थियो ।
बधाई तथा शुभकामना कार्यक्रममा ३ नम्बर वडा कार्यालयका वडाध्यक्ष विद्या शाक्यले आफ्नो शुभकामना मन्तव्य दिने क्रममा संघको प्रत्येक ३–३ वर्षमा चुनावमा भइरहँदा व्यवसायीहरू निर्वाचित पदाधिकारीहरुसँग केही न केही आशावादी हुँदाहुँदै केही निराशा पनि हुनुपर्ने अवस्था देखिएको बताए । ‘त्यसमा म पनि जनप्रतिनिधिसँगै एक व्यवसायी भएको नाताले पनि मैले यस्तो महसुस गरेको छु’, वडाध्यक्ष शाक्यले भने, ‘मेरो बुझाइमा उद्योग वाणिज्य संघ भनेको एउटा व्यापारीहरुको मेरुदण्ड हो । तर व्यापारीहरुले जहिले पनि हामी बजारमा जाँदा उद्योग वाणिज्य संघले व्यापारीलाई केही पर्दा पनि आइदिएन भन्ने विगतका गुनासोहरु आइरहने गर्छ, यो गुनासोलाई अहिले तपाईंहरु उद्योग वाणिज्यको टिमले चिर्नु पर्छ ।’
उनको थप भनाइ थियो–व्यापारीहरुलाई दालभात दिइ राख्नुपर्ने छैन मात्र कमसेकम महिनामा एक व्यापारीहरुसमक्ष गएर उनीहरुको अवस्थाबारे जानकारी लिन आवश्यक छ । वास्तवमा धरान बजार मन्दी अवस्थामा रहेको छ । सटरहरु बन्द भइरहेको छ, व्यापारीहरु पलायन भइइरहेको अवस्था छ यस्तो परिस्थितिमा व्यावसायीहरुलाई बचाउने कोही छैन । सम्पूर्ण व्यापारीहरु उद्योग वाणिज्य संघको भरोसा र आशामा बसेको उनको कथन थियो । संघले नै बेवास्ता गरिदिँदा कतिजना व्यापारीहरुले उद्योग वाणिज्य संघ धनीहरुको मात्र हो भनी सुनिने गरेको अवस्थामा भ्रम चिर्न सक्नुपर्नेमा उनको जोड थियो । उनले संघको सदस्यता नवीकरण प्रत्येक ३–३ वर्षमा हुने गरेको र त्यसो नगरेर प्रत्येक १–१ वर्षमा नवीकरण हुनुपर्ने सुझाए ।
कार्यक्रममा संघका नवनिर्वाचित अध्यक्ष श्रेष्ठले आफूहरु कुराभन्दा पनि काम गर्ने उद्देश्य राखेर आएको बताउँदै भने, ‘धरानका व्यवसायीहरुलाई स्थायीरुपमा चलायमान राख्न व्यवसायीहरुको घरभाडामा न्यूनतम कसरी कम गराउन सकिन्छ भन्ने कुरामा हाम्रो टिम लागिरहेको छ ।’
बधाई तथा शुभकामना कार्यक्रममा संघका वर्तमान अध्यक्ष विजय श्रेष्ठले पनि नेपाल सरकारले सुनचाँदी व्यवसायीहरुलाई २ प्रतिशतले विलासिता कर लगाउनु गलत भएको बताए । ‘यो गर्नु भनेको सरकारको व्यापारीप्रति मात्र नभएर हामी सम्पूर्ण जनताको संस्कृतिमाथि धावा बोलेको बुझिन्छ । किनभने सुनचाँदी हाम्रो विवाह, मृत्यु, ब्रतबन्ध जुन कार्यमा पनि चाहिन्छ । यसर्थ यो सरकारको हामी प्रति गरेको अन्याय र गलत क्रियाकलापको सबै एकजुट भएर जिल्ला, प्रदेश र केन्द्र भएर आवाज उठाएर यसको समाधान गर्न लाग्नुपर्छ ।’
कार्यक्रममा वडा नम्बर–३ का सचिव मदन दाहाल, सम्बन्धित वडाका वडा सदस्यहरु उषा सुब्बा, शोभा विश्वकर्मा, मिक्मा भोटे र मनिष खड्गीलगायतको उपस्थिति थियो ।
तस्वीरहरुः लक्ष्मण थापा

 

प्रकाशित मिति: साउन ५ २०८२, सोमबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend