Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानको भानुचोकमा निःशुल्क मधुमेह परीक्षण, दुई सय बढी लाभान्वित

हाम्रो कोशी आवाज
साउन १८ २०८२, आइतबार
धरानको भानुचोकमा निःशुल्क मधुमेह परीक्षण, दुई सय बढी लाभान्वित

धरानः धरानको भानुचोकमा आयोजित निःशुल्क मधुमेह, रक्तचाप साथै खानपानसम्बन्धी परामर्श सेवाबाट दुई सयभन्दा बढी लाभान्वित भएका छन् ।
डायबेटिज विद्यार्थी समूह, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान नेपाल अग्रवाल सभा, धरान र नेपाल अग्रवाल महिला मञ्च, धरानको संयुक्त आयोजनामा शनिबार भानुचोकस्थित लोकतान्त्रिक चौतारीमा निःशुल्क मधुमेह परीक्षण तथा स्वास्थ्य परामर्श शिविर सम्पन्न भएको छ ।
शिविरमा बीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका एसोसिएट प्रोफेसर डा. अरुणकुमार सिंह रडायबेटिज टाइप–१ विद्यार्थी समूहका सदस्यहरूको सक्रिय सहभागितामा मधुमेह परीक्षण, रक्तचाप जाँच, जीवनशैली तथा खानपान सम्बन्धी परामर्श र मधुमेहसम्बन्धी जनचेतनामूलक शिक्षा निःशुल्करूपमा प्रदान गरिएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि प्रदेश सभा सदस्य रमेश बस्नेतको उपस्थित रहेको थियो । कार्यक्रममा धरान उपमहानगरपालिकाका उपमेयर अइन्द्रविक्रम बेघा, धरान–२ का वडाअध्यक्ष रमेशकुमार राई, स्थानीय सुनिलकुमार अग्रवाल (बन्टी), इन्दु तोदी, लता अग्रवाल, पितरुमल अग्रवाल, अशोक अग्रवाल, शिवेन्द्र कुर्मी तथा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानकी वरिष्ठ प्राध्यापक प्रा. डा. सुधा अग्रवाल, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान विद्यार्थी कल्याण समाजका अध्यक्ष नवराजकुमार देवलगायत विभिन्न सामाजिक तथा शैक्षिक क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो ।
स्वागत मन्तव्य नेपाल अग्रवाल महिला मञ्चकी केन्द्रीय संयोजक इन्दु तोदीले गरेकी थिइन् भने कार्यक्रम सञ्चालन नेपाल अग्रवाल सभाका सचिव विवेक अग्रवालले गरेका थिए ।
डा. सिंहले मधुमेहको प्रारम्भिक पहिचान, नियन्त्रणका उपायहरू, सन्तुलित आहार, नियमित व्यायाम, औषधि सेवन तथा जीवनशैली सुधारबारे जानकारी गराउनुका साथै सर्वसाधारणलाई नियमित स्वास्थ्य परीक्षण गर्न प्रेरित गरेका थिए ।
शिविरमार्फत मधुमेहजस्ता दीर्घरोगबारे समुदायमा सचेतना फैलाउन र समयमै रोगको पहिचान गर्न महत्वपूर्ण योगदान पुग्ने कार्यक्रमको उदेश्य रहेको आयोजकको भनाई रहेको छ ।

प्रकाशित मिति: साउन १८ २०८२, आइतबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend