Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

हलेसीमा फर्किदै गरेको गाडी दुर्घटनाः एकजनाको मृत्यु, अन्य १७ जना घाइते

हाम्रो कोशी आवाज
साउन १९ २०८२, सोमबार
हलेसीमा फर्किदै गरेको गाडी दुर्घटनाः एकजनाको मृत्यु, अन्य १७ जना घाइते

धरानः प्रसिद्ध धार्मिक तीर्थस्थल खोटाङको हलेसी दर्शन गरेका तीर्थयात्री बोकेर फर्किदै गरेको गाडी दुर्घटनामा परेर एकजना महिलाको मृत्यु भएको छ । मृतकको पहिचान खुलिसकेको छ ।
दुर्घटनामा परेर सिरहाको नहरा गाउँपालिका–३ की अन्दाजी ३० वर्षीया ममतादेवी यादवको मृत्यु भएको कोशी प्रदेशका निमित्त ट्राफिक प्रहरी प्रमुख डीएसपी सन्तोष श्रेष्ठले बताए । उनका अनुसार घटनास्थलबाट उद्धार गरेर अस्पताल पुर्याउनसाथ यादवलाई चिकित्सकले मृत घोषित गरेका थिए । दुर्घटनामा परेर गाडीमा यात्रा गरिरहेका अन्य १७ जना घाइते भएका थिए ।
घाइतेमध्ये एक जनाको मृत्यु भएको हो । घाइतेहरूमा सिराहाको नहरा–५ की ३९ वर्षीया रन्जिता यादव, ७० वर्षीया सुस्मवती यादव, ७० वर्षीय राज यादवलगायतको अवस्था गम्भीर रहेको डीएसपी श्रेष्ठले बताए । घाइतेमध्ये १० जनालाई थप उपचारका लागि ट्रमा सेन्टर काठमाडौं रेफर गरिएको जानकारी उनले दिए ।
त्यसअघि घाइतेहरूलाई उपचारका लागि उदयपुरको घुर्मी सामुदायिक अस्पताल लगिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार सामान्य अवस्थाका अन्य ६ जना घाइतेहरु उपचारपछि डिस्चार्ज भइसकेका छन् । दुर्घटनालगत्तै चालक सिराहा नगरपालिका–३ का २८ वर्षीय रामनाथ साह फरार भएको प्रहरीले जनाएको छ ।
फरार रहेका चालकको खोजी तीव्र पारेर प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको छ । चालकसहित १८ जना सवार रहेको प्रदेश २–०१–००१ ज ००५३ नम्बरको विंगर गाडी मध्यपहाडी लोकमार्गअन्तर्गत खोटाङको हलेसी तुवाचुङ नगरपालिका–१ दौत्या खोलानजिक दुर्घटनामा परेको डीएसपी श्रेष्ठले बताए ।
उनका अनुसार हलेसीबाट सिराहातर्फ जाँदै गरेको गाडी सडकबाट करिब २ सय मिटर तल खसेको थियो । गाडी सिराहाबाट रिजर्भ लिएर खोटाङ गएको थियो । हलेसी मन्दिर दर्शनपछि रिजर्भका यात्रु बोकेर सिराहातर्फ फर्किदै गरेको गाडी आफैं अनियन्त्रित भएर दुर्घटनामा परेको प्रहरीको भनाइ छ । तीव्र गतिका कारण दुर्घटना भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।

प्रकाशित मिति: साउन १९ २०८२, सोमबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend