धरानः सुनसरीको कोशी गाउँपालिका–८ स्थित भीमनगर बोर्डर नजिक नक्कली नोटसहित दुईजना भारतीय नागरिकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
सुनसरी प्रहरीका प्रवक्ता डीएसपी योगराज खतिवडाका अनुसार नक्कली नोटसहित सप्तरीको हनुमान कंकालिनी नगरपालिका–२ का २६ वर्षीय राजेशकुमार रजक र सोही नगरपालिका–१ का २५ वर्षीय राजेश चमार रजक पक्राउ परेका हुन् ।
उनका अनुसार लु ९२ प २३८० नम्बरको मोटरसाइकलमा सवार दुई जनामध्ये पछाडि बसेका राजेश चमार रजकको साथबाट नेपाली एक हजार दरका ३८ थान नक्कली नोट फेला परेको हो । विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय भाण्टाबारीबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपाल प्रवेश गर्दै गरेको मोटरसाइकल चेकजाँचका क्रममा उनीहरुलाई पक्राउ गरेको हो ।
प्रहरीका अनुसार पछाडि सवार राजेश चमार रजकको साथबाट नेपाली रुपैयाँ एक हजार दरका ३८ थान नक्कली नोट बरामद भएको थियो ।