धरानः धरान आउँदै गरेको बसको ठक्करले एकजनाको मृत्यु भएको छ भने एकजना गम्भीर घाइते समेत भएका छन् ।
सिटी सफारीलाई ठक्कर दिँदा पछाडि सवार एकजनाको मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा इटहरी उपमहानगरपालिका ४ का ६१ वर्षीय तुलसीप्रसाद गुरागाईंको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
मोरङको सुन्दरहरैंचा–७ बेलगाछी चोकमा पूर्व–पश्चिम लोकमार्गमा विराटचौकबाट गछियामा सो दुर्घटना भएको हो । धरान आउँदै गरेको मे१ख २७९६ नम्बरको यात्रुबाहक बस (सूर्योदय कम्पनी) ले उत्तरबाट दक्षिणतर्फ बाटो क्रस गर्दै गरेको प्र १–०२–००४ ह ४२२४ नम्बरको केरा लोड भएको सिटी सफारीलाई ठक्कर दिँदा सिटी चालक र सोही सिटीमा सवार गुरागाईं गम्भीर घाइते बनेका थिए । गम्भीर घाइते अवस्थामा नोवेल अस्पताल विराटनगर लगी उपचारका क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
सिटी चालक दुहबी–५ बस्ने ४२ वर्षीय बलबहादुर लिम्बूको उपचार भइरहेको र उनको पनि अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । बस चालक मोरङ सुन्दरहरैंचा नगरपालिका ७ बस्ने ४२ वर्षीय लेप्चन साह प्रहरी नियन्त्रणमा रहेका छन् । बसको तीब्रगतिका कारण दुर्घटना भएको प्रहरीले जनाएको छ ।