धरानः धरान इटहरी सडकमा फेरि दुर्घटना भएको छ । केही हप्ताअघि दुर्घटना भएको ठाउँदेखि केही माथि धरान–इटहरी सडक खण्डको पानीपिया जंगलमा बस र स्कुटी ठोक्किँदा दुईजनाको ज्यान गएको प्रहरीले जनाएको छ ।
इटहरीबाट धरानतर्फ आउँदै गरेको प्रदेश १-०२-००२ ख ०४५५ नम्बरको बस र विपरीत दिशाबाट आइरहेको को२२प २१२५ नम्बरको स्कुटर ठोक्किँदा बसको अगाडिको भागमा स्कुटर च्यापिएर स्कुटर चालक झापाको बिर्तामोड नगरपालिका-५ का सुजन विक र पछाडि सवार सुरज विक गम्भीर घाइते भएका थिए ।
घाइते दुवैको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा दिउँसो मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता योगराज खतिवडाले जानकारी दिए । दुवै शव हाल धरानस्थित बीपी प्रतिष्ठानको शव गृहमा राखिएको छ । ६ लेनको धरान-इटहरी सडकमा लेन क्लियर नभई धरानदेखि जाँदा दायाँकै लेन प्रयोग गरेकोले गाडीमा ठोक्किन पुगेको प्रहरीले जनाएको छ ।
बस चालक उदयपुरको बेलका नगरपालिका-३ का प्रेम मगरलाई जिल्ला प्रहरी कार्यालयले नियन्त्रणमा लिएको छ भने घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।