धरानः सुनसरीमा ब्राउन सुगर र गाँजासहित पक्राउ परेका छन् ।
सुनसरीको इनरूवा नगरपालिका वडा नं. ४ बसचौकमा अस्थायी प्रहरी पोष्ट बसपार्क र जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको संयुक्त प्रहरी टोलीले विशेष सूचनाको आधारमा चिरौलीचोकबाट सखुवागाछीतर्फ पैदल जाँदै गरेकालाई चेकजाँच गर्दा ब्राउन सुगर फेला परेको प्रहरीले जनाएको छ ।
इटहरी उपमहानगरपालिका वडा नं. ५ बस्ने ५३ वर्षीय विशाल माझी र २५ वर्षीय सचिन लिम्बूलाई कानुन बमोजिम चेकजाँच गर्दा निजहरूको साथबाट लागूऔषध ब्राउन सुगर २.३८ ग्राम फेला परेकोले उनीहरुलाई पक्राउ गरी अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।
यस्तै, सुनसरीको बराहक्षेत्र नगरपालिका वडा नं.११ मधुवनमा लागूऔषध कारोबार भइरहेको छ भन्ने विशेष सूचनाको आधारमा प्रहरी चौकी मधुवन र इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट संयुक्तरुपमा खटिएको प्रहरी टोलीले बराहक्षेत्र–११ बस्ने ५० वर्षीय मुस्ताक मियाको टिनको छानो बाँसको बेरा भएको घरमा कानुन बमोजिम खानतलासी गर्दा गाँजा फेला परेको प्रहरीले जनाएको छ ।
घरभित्र लुकाइछिपाइ राखिएको अवस्थामा तीनवटा प्लास्टिकको पोकाभित्र लागूऔषध गाँजा ७८ के.जी.फेला परेको प्रहरीले जनाएको छ । गाँजासहित मुस्ताक मियाँ, ओसारपसार कार्यमा संलग्न बराहक्षेत्र–६ बस्ने बलराम यादव र पटेरको घारीमा लुकाएर राखिएको अवस्थामा बिआर१० एक्यु ५५४२७ नम्बरको भारतीय मोटरसाइकल समेत नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय महेन्द्रनगरमा ल्याई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।