Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानमा फेरि सुरुङ मार्गको चर्चा, सुनसरी उद्योग वाणिज्य संघका पदाधिकारीले खाए सपथ (३८ तस्वीरसहित)

हाम्रो कोशी आवाज
साउन २८ २०८२, बुधबार
धरानमा फेरि सुरुङ मार्गको चर्चा, सुनसरी उद्योग वाणिज्य संघका पदाधिकारीले खाए सपथ (३८ तस्वीरसहित)

धरानः कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले धरानको खानेपानीको दीर्घकालीन समाधानका लागि धरान–लेउती सुरुङमार्गमा समेत जोड दिएका छन् । उनले त्यसको लागि अध्ययन अघि बढाउने समेत बताए । तमोरको पानी धरान ल्याउन बजेट विनियोजन समेत गरिने उनको भनाइ छ । यसैपटक धरान–लेउती सुरुङ मार्गको अध्ययन गरिने बताउँदै उनले भौतिक मन्त्रालयमा पनि कुरा अघि बढाइएको समेत बताए ।
यसअघि नै सुरुङ मार्गको सम्भाव्यता अध्ययन प्रतिवेदन आइसकेको छ । २०७९ साल असार अन्तिममा सो प्रतिवेदन सार्वजनिक भइसकेको छ । सडक विभागअन्तर्गतको गुणस्तर अनुसन्धान तथा विकास केन्द्रका सिनियर डिभिजन इन्जिनियर सौरभ बज्राचार्यका अनुसार अध्ययन रिपोर्टले सुरुङ मार्ग बनाउन सकिने र धरान–धनकुटा सडक खण्डमा बन्ने सुरुङ मार्ग ३.८६ किमी लामो बन्ने बताएका छन् । सुरुङ मार्ग बने धरानमा सहजै पानी ल्याउन सकिने र सडकका घुम्तीहरु पनि छोटिने उनले बताए । विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) अध्ययन हुन भने सकेको छैन ।
पदस्थापना कार्यक्रम भव्यताका साथ सम्पन्न
धरानमा सुनसरी उद्योग वाणिज्य संघको २५ औं पदस्थापना कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ । गत असार ३० गते सम्पन्न सुनसरी उद्योग वाणिज्य संघ सुनसरी धरानको निर्वाचनबाट निर्वाचित गोपाल श्रेष्ठलगायत १९ सदस्यहरूलाई पदस्थापनासँगै शपथ समेत खुवाइएको छ ।
पदस्थापना कार्यक्रममा प्रमुख अतिथि एवं कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्की समेत उपस्थित थिए । कार्यक्रममा बोल्दै उनले समयले धरानले केही मागिरहेको बताउँदै सबै राजनीतिक पार्टी एक हुन आवश्यक रहेको बताउँदै भने, ‘राजनीतिक पार्टी नेकपा एमाले, नेपाली कांग्रेस, माओवादी केन्द्र लगायतका अन्य राजनीतिक पार्टीसँग अपेक्षा राख्न चाहान्छु कि तपाईहरुले धरान तथा सुनसरीको सन्दर्भमा एक ठाउँमा बसेर हामी कहाँ, कहाँ चुक्यौ र हामीले के गर्नुपर्छ भन्ने कुरामा नजिक भएर छलफल गर्नुपर्छ भन्ने लागेको छ ।’
उनले धरानको विकासमा दुईटा महत्वपूर्ण कुराले प्रभाव पारेको बताउँदै भने, ‘अब गम्भीर भएर छलफल जरुरी छ ।’ धरान सम्भावना नै सम्भावना भएको ठाउँ बताउँदै उनले जुन ढङ्गले उपलब्धि हासिल गर्नुपर्ने हो त्यो हुन नसकिरहेको उनको भनाइ थियो । हाल कोशी लोकमार्गको रुपमा रहेको जोगवनीदेखि किमाथाङ्का सडक धरानको तीनकुने जङ्लसम्म आएर टुङ्गिएको र यसको लागि धरानबासीले अब सोच्नुपर्ने बेला आएको उनले बताए । ‘यसमा धरानका राजनीतिक नेतृत्व, धरानका उद्योगी व्यवसायी साथीहरु, धरानका लब्धप्रतिष्ठित व्यक्तित्वहरुले एउटै मत बनाएर अब सडक कस्तो बनाएर लाने भन्नेबारेमा सोच्नुपर्ने बेला आएको छ’, उनले भने ।
राजनीतिक पार्टीको तर्फबाट बोल्दै नेपाली कांग्रेस नगर सभापति श्याम पोख्रेलले विगतको समयदेखि धरानका व्यवसायीहरू पलायन भएको अवस्थामा यसलाई रोक्न सक्नुपर्नेमा जोड दिए । उनले धरानका व्यवसायीका समस्याका विषयमा धरानको नेतृत्वले पनि सोच्नुपर्ने बेला आएको समेत बताए । ‘धरानका व्यवसायीका समस्यामा धरानको नेतृत्वले सोच्नुपर्ने बेला आएको छ’, उनले भने, ‘तर पनि धरानको व्यापारीहरू र करले चलेको स्थानीय सरकार, धराने जनताको मतले नेतृत्व बसेका स्थानीय प्रमुख यस्तो धराने व्यावसायीहरुको ठूलो कार्यक्रममा आफ्नो उपस्थिति नजानाउनु भनेको यो व्यापारीहरुमाथि हेपाका प्रवृत्ति र जनता मतको अपमान भएको मैले महसुस गरेको छु ।’ सभापति पोख्रेलले २०४६ सालदेखि अहिलेसम्म धराने जनताले जिताएर पठाएको सांसदहरुले पनि अहिलेसम्म न संघीय सरकारमा न प्रदेश सरकारमा कुरा उठाएका छन् भन्दै गुनासो पोखे ।
कार्यक्रममा इनरुवा उधोग वाणिज्यका अध्यक्ष वीरेन्द्र साहले पनि जिल्लामा अन्य उद्योग वाणिज्य संघ छ भन्ने अपनत्व गर्न पाउनुपर्नेमा जोड दिए । कार्यक्रममा नेपाली कांग्रेस कोशी प्रदेशका महामन्त्री उमेश थापाले राष्ट्रको कुल ग्राहस्थ उत्पादनमा उद्योगधन्धाको जुन हिस्सेदारी रहेको छ, त्यो घट्दो रहेको बताउँदै जबसम्म मुलुकमा कुल ग्राहस्थ उत्पादनमा कृषि क्षेत्र र औधोगिक क्षेत्र हिस्सेदारी बढाउन सकिँदैन तबलसम्म मुलुकले द्रुतगतिमा आर्थिक विकासमा अगाडि बढ्न नसक्ने बताए ।
कार्यक्रममा उद्योग वाणिज्य संघका केन्द्रीय सदस्य नवीन रिजाल, धरान उद्योग वाणिज्य संघका पूर्व अध्यक्षहरुको तर्फबाट सरोज श्रेष्ठ, प्रदेश सांसद यशोदा कायस्थ, कोशी प्रदेशका पूर्व सभामुख प्रदीप भण्डारीलगायतले शुभकामना मन्तव्य राखेका थिए । पदस्थापन कार्यक्रमको अध्यक्षता उद्योग वाणिज्य संघ धरानका निवर्तमान अध्यक्ष विजय श्रेष्ठले गरेका थिए भने नवनिर्वाचित अध्यक्ष गोपाल श्रेष्ठलगायत १८ जना सदस्यहरुलाई पदस्थापन तथा सपथ ग्रहण निर्वाचन प्रमुख अधिकृत प्राडा राजेन्द्रप्रसाद शर्माले गराएका थिए । कार्यक्रमको सञ्चालन महेन्द्र प्रधानले गरेका थिए । तस्वीरहरुः लक्ष्मण थापा हाम्रो कोशी आवाज

प्रकाशित मिति: साउन २८ २०८२, बुधबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend