धरानको खानेपानीमा व्यापक सुधार
धरानः धरानमा खानेपानी थपिएको थपियै छ । २०५० सालतिर धरानमा खानेपानीको खासै समस्या नभएपनि जनसंख्या बढ्दै गएपछि यो समस्या टड्कारो बन्दै गयो । धरानको २० वटै वडालाई समग्ररूपमा हेर्ने भने हिउँदयाममा अहिले पनि खानेपानीको समस्या टरिसकेको छैन । धरानमा खानेपानीको माग दैनिक करिब ४ करोड लिटर छ भने आपूर्ति केवल करिब ३ करोड लिटरको हाराहारीमा मात्रै रहेको जनाइएको छ । भनौं धरानमा अझै पानी अपुग नै रहेको छ ।
यसरी हेर्दा अहिले धरानमा खानेपानीमा व्यापक सुधार भएको छ । धरानका मेयर हर्कराज राई निर्वाचित भएर आएलगत्तैदेखि हालसम्म कोकाह, पकुवा, सर्दुखर्दु, निशाने खोला, भालुखोला आदि स्थानबाट थप पाइप विस्तार भई धरानको खानेपानी समस्याको धेरै हदसम्म भएपनि सुधार्ने कोसिस भएको छ । यस्तै, केहीदिनअघि धरान–२० कोकाहकै शिरबाट पनि खानेपानी ल्याइएको छ । ३ इन्च पाइपमा धरान–११ र १७ बासी लाभान्वित हुने गरेर पानी ल्याएका हुन् । ३० लाख रुपैयाँको लागतमा सो खानेपानी आएको हो ।
यस्तै, खानेपानीकै समस्या समाधानमा थप राहत होस् भनेर भूमिगत पानीको लागि धरानस्थित चारकोशे जंगल परिसरमा तीनवटा डिप बोरिङ थप भएको छ । करिब ५० लाख लिटर दैनिक पानी थपिने र यसले धरानको खानेपानीलाई सहज गर्ने जनाइएको छ । कोशी लोकमार्गअन्तर्गत धरान–इटहरी सडक खण्डको सेउती खोलानजिकैको जंगलमा दुईवटा र धरान–१७ स्थित कुम्भीआहाल क्षेत्रमा बोरिङ गरिएको छ ।
कोशी प्रदेश सरकारका सांसद रमेश बस्नेत र विजयकुमार राईको पहलमा सो खानेपानी आयोजना आएको हो । सो पानी धरान खानेपानी व्यवस्थापन बोर्डको सिष्टममा जडान हुनेछ र वितरण हुनेछ । अहिले पानी वितरण हुन थालेको छैन । इलेक्ट्रोमेकानिकलको काम सम्पन्न हुन बाँकी रहेकोले सो पानी आउन बाँकी नै छ । कुल ४ करोड बजेट विनियोजन भएपछि सो कार्यक्रम सम्पन्न भएको हो । आव २०८०÷०८१ मा तीनवटा डिप बोरिङ गर्न कुल ४ करोड विनियोजन भएको थियो । यस्तै, आव २०८१÷०८२ मा इलेकट्रोमेकानिकलको काम गर्न कुल ३ करोड ३० लाख बजेट विनियोजन भएको थियो । ठेक्कामार्फत २ करोड ७९ लाख ४० हजार ४१ रुपैयाँमा काम सम्पन्न भएको हो । प्रदेश सांसद बस्नेतले फेरि अर्को डिप बोरिङ पनि थपिने जानकारी दिए । उनले एउटा पम्पबाट कम्तीमा १५ लाख लिटरसहित प्रतिदिन ४५–५० लाख लिटर पानी थपिने भएपछि उत्साहित भएको बताए । सांसद बस्नेतका अनुसार गत बोरिङक लागि आव २०८०÷०८१ मा विनियोजन गरिएको बजेटमध्ये तीनठाउँमा डिप बोरिँ गर्न १ करोड ५२ लाखमा श्रीमन ड्रिलिङ कन्ट्रक्सन प्रालिले ठेक्का पाएको हो ।
सुख्खा मौसम शुरु भएसँगै धरानमा वर्षेनी खानेपानीको अभाव रहँदै आएको छ तर समस्या समाधानका लागि चालिएका यस्ता केही कदमले अहिले खानेपानी सुधारका प्रयासहरू सफल हुँदै गएका छन् । अघिल्लो वर्षदेखि हिउँदमा पनि खानेपानीको हाहाकार नै भने भएन ।
‘धरानको खानेपानी समस्या विगतदेखिकै हो, यसको समाधानका लागि स्थानीय, प्रदेश र केन्द्रीय सरकार लगातार लागिरहेको छ’, सांसद् बस्नेतले भने । उनका अनुसार केन्द्र सरकारले खानेपानी समस्या समाधानका लागि अब थप जोड दिनुपर्ने समेत बताए ।
उता मेयर साम्पाङले भने केन्द्र सरकारले रेडबुकमै पारेर खानेपानीको दीर्घकालीन समस्या हल गर्नुपर्ने सुझाउँदै आएका छन् । खानेपानीमन्त्री प्रदीप यादवलाई रेडबुकमै पारेर खानेपानीको योजना अघि बढाउन उनको आग्रह छ । ‘हालसम्म मैले खोलाखाल्सीको पानी जम्मा गरेर भएपनि हिउँदमा पनि खानेपानी खुवाएको छु, खानेपानीजस्तो आधारभूत आवश्यकतामा केन्द्रीय सरकारले नै व्यवस्था गर्नुपर्छ, यो राष्ट्रिय मुद्दा हो, राष्ट्रिय गौरवको आयोजनाका रुपमा हेर्दै रेडबुकमा बजेट व्यवस्था गर्नुपर्छ ।’
धरानको बढ्दो जनसंख्या अनुसार आवश्यकताको आधारमा भनेजति पानी उपलब्ध हुन सकेको छैन । खानेपानी बोर्डले सर्दु, खर्दु, तामाखाम, कोकाह, भालुखोलालगायतबाट वर्षायाममा पानी उपलब्ध गराएपनि सुख्खायाममा केही समस्या हुने गरेको छ । खानेपानी समस्या समाधान गर्ने अठोटका साथ धरान उपमहानगरपालिकाका मेयर साम्पाङ अहिले पनि निरन्तर लागिरहेका छन् ।
उनले खानेपानी सुधार कार्यक्रमअन्तर्गत अहिले धरान–२० मा ५ करोड ७५ लाखमा रिजर्भ ट्याङ्की समेत निर्माण गरिरहेका छन् । धरान खानेपानी व्यवस्थापन बोर्डको लगानीमा पानी आउनजेलसम्म रिजर्भ गर्नका लागि ट्याङ्की बनाइएको हो । ३० लाख लिटर क्षमताको सो ट्याङ्कीको निर्माण कार्य अन्तिम चरणमा छ । खानेपानी बोर्डका निर्देशक राजु पोख्रेलले धरानमा वर्षेनी हिउँदमा हुने खानेपानीको अभाव टार्न केही हदसम्म राहत हुने बताए ।
मेयर साम्पाङले अहिले पनि धराने जनताको प्यास मेटाउन आफू हरदम लागिरहेको बताउँछन् । ‘बढ्दो जनसंख्यासँगै खानेपानीको मुहान समेत सुक्दै जाने भएकोले काकाकुल हुन नपरोस् भनेर म निर्वाचित भएदेखि नै खानेपानीको सुधारमा लागिरहेकै छु । उनले भने, ‘समस्याको दीर्घकालीन समाधान नभएसम्म अर्थात् कोशीको पानी धरान नल्याएसम्म खोलाखाल्सीकै पानीलाई सुधार्दै धरानेको प्यास मेटाउनेछु ।’
धरानमा विशेषतः फागुनदेखि जेठ महिनासम्म खानेपानीको अभाव रहन्छ । मेयर साम्पाङ आएपछि खोलाखाल्सी चहार्दै पानीको सुधार कार्यक्रमलाई ब्यापकता दिएपछि केही सुधार भने भएको छ ।
सुख्खायाममै पनि अहिले धरानमा सर्दु, खर्दु र तामाखामबाट करिब ६० लाख लिटर, एडिबीअन्तर्गत जडान भएका पम्पबाट करिब १२० लाख लिटर, मेयर साम्पाङले सुधारेको खानेपानी आयोजनाबाट करिब २० लाख लिटर, कोशी प्रदेश सरकारले खनेको वेलबाट करिब ४५ लाख लिटर पानी आउने अनुमान गरिएको छ । -हाम्रो कोशी आवाज साप्ताहिक पत्रिकाबाट