धरानः धरानमा ‘धरान नगर अस्पताल’ बनाउने विषयमा उपमहानगरपालिकाले छलफल अगाडि बढाएको छ ।
नगर अस्पताल बुधबार धरानका राजनीतिक दलहरूसँग छलफल अगाडि बढाइएको छ । धरान उपमहानगरपालिकाको कार्यपालिका बैठक कक्षमा सो छलफल भएको हो । धरानका सबैजसो राजनीतिक दलहरूसँग भएको छलफलमा अस्पताल निर्माणका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको स्वामित्वमा रहेको जग्गा फिर्ता ल्याउन अर्को बैठकले ‘पहल समिति निर्माण’ गर्ने सहमति बनेको धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई (साम्पाङ) ले जानकारी दिए ।
छलफलमा प्रतिष्ठान अस्पताल निर्देशक डा.जगत नारायण प्रसादले भर्खरै नयाँ नियुक्ति लिएर पदभार समेत ग्रहण गरिसकेका उपकुलपति प्रा.डा. विक्रमप्रसाद श्रेष्ठले प्रतिष्ठानकै मातहतमा शाखाको रुपमा नगर अस्पताल सञ्चालन गर्ने प्रस्ताव पठाएको भन्दै सो बारेमा जानकारी दिएका थिए । मेयर साम्पाङ र राजनीतिक दलहरूले भने प्रतिष्ठानको मातहतमा नगर अस्पताल सञ्चालन गर्ने नभई आफ्नै नगर अस्पताल सञ्चालन गर्न आफूहरुले चाहेको भन्दै अड्डी कस्दै प्रतिष्ठान मातहतमा पुगेको धरान–१ पुरानो अस्पतालको जग्गा फिर्ता गर्न माग गरे ।
छलफलमा मेयर साम्पाङ, उपमेयर अइन्द्रविक्रम बेघा, नेपाली कांग्रेसका नगर सभापति श्याम पोख्रेल, नेकपा एमालेका उपाध्यक्ष पारस काङमाङ, नेकपा माओवादी केन्द्रका नगर अध्यक्ष उद्धव लिम्बू, जनता समाजवादी पार्टीका ताजुब लिम्बू, रास्वपाका राम कार्की, एकीकृत समाजवादीका रेवतीरमण राई, स्वतन्त्र नागरिक समाजका अध्यक्ष समिर तामाङ, राप्रपाका नरेशकुमार शाक्यलगायत अन्य दलका नेताहरूको उपस्थिति थियो । कार्यक्रममा दलका नेताहरुले केन्द्रीय सरकारसँग पनि बीपी प्रतिष्ठानको मातहतमा पुगेको जग्गा पहिलो जुन प्रक्रियाबाट पुग्यो, सोही प्रक्रिया अनुरुप फिर्ता गराउन पहल थाल्ने अडान कसे ।
धरान उपमहानगरपालिकाले नगरभित्र रहेको धरानको छाता चोकस्थित पुरानो अस्पतालमा आफ्नै नगर अस्पताल निर्माण गर्न चाहेको छ तर सो जग्गा बीपी प्रतिष्ठानको नाममा गइसकेको हुनाले फिर्ता ल्याउन पहल हुँदै आएको छ । यसअघि धरान उपमहानगरपालिकाको कार्यपालिका बैठकले समेत धरानमा नगर अस्पताल सञ्चालन गर्ने निर्णय समेत गरिसकेको छ ।
धरान उपमहानगरपालिकाले बीपीको जग्गा फिर्ता गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग औपचारिक आग्रह समेत गरिसकेको अवस्था छ । यसअघि मेयर साम्पाङले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा पत्र पठाउँदै धरानको छाता चोकस्थित पुरानो अस्पतालको जग्गा उपमहानगरपालिकालाई फिर्ता गर्न औपचारिक अनुरोध गरेका थिए । नगर प्रमुख हर्कराज राईद्वारा मन्त्रालयमा पठाइएको पत्रमा छाताचोकको जग्गा पूर्व जानकारीबिना बीपी प्रतिष्ठानलाई हस्तान्तरण गरिएको जनाइएको छ । धरान नगरपालिकाको तर्फबाट पठाइएको उक्त पत्रको बोधार्थ प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, प्रदेश १ का मुख्यमन्त्री कार्यालय र बीपी प्रतिष्ठानलाई समेत पठाइएको छ । तर प्रतिष्ठानको तर्फबाट यसबारे कुनै औपचारिक प्रतिक्रिया आएको थिएन ।
हाल धरानमा नगरपालिकाको स्वामित्वमा रहेको अस्पताल छैन । स्वास्थ्य बीमा कार्यक्रमसम्बन्धी समस्या तथा स्थानीय सेवाको अभावका कारण नगर अस्पतालको आवश्यकता बढेको उपमहानगरले जनाएको छ । ‘यिनै कारणले धरानले पुरानो अस्पताल परिसरमै नयाँ नगर अस्पताल निर्माण गर्ने योजना अघि सारिएको हो’, मेयर साम्पाङ भन्छन् ।
२०४८ साल माघ ४ गतेको तत्कालीन सरकारको निर्णयअनुसार १ बिघा ४ कट्ठा १३.१ धुर जग्गा बीपी प्रतिष्ठानको नाममा नामसारी भएको थियो । अहिले सो जग्गामा धरान स्वास्थ्य चौकी, प्रस्तुति गृह लथालिङ्ग अवस्थामा सञ्चालित छ । त्यहाँको स्वास्थ्य सेवा प्रभावकारी हुन सकेको भने छैन ।
यसअघि नै बीपी प्रतिष्ठानले त्यहाँ शाखाको रुपमा अस्पताल सञ्चालन गर्न खोजेको थियो । तर उपमहानगरपालिकाले सुविधासम्पन्न नगर अस्पताल बनाउने योजना अघि सारेपछि त्यो रोकिएको थियो । नेपाल स्वास्थ्य वीमा बोर्डले बीमाका लागि नेपाल सरकारले सञ्चालन गरेको अस्पतालाई पहिलो पक्ष र बीपी प्रतिष्ठानलाई रेफरल सेन्टरको रुपमा लिएपछि नगर अस्पताल बनाउने विषयमा राजनीतिक दल, धरान उपमहानगरपालिका तात्तिएर लागेको हो । नेपालको संविधानमा सबै स्थानीय तहले सुविधा सम्पन्न स्वास्थ्य चौकी संञ्चालनमा उल्लेख छ । तस्वीरहरूः लक्ष्मण थापा











