Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

समाचार लेख्दा पत्रकारलाई डेढ लाख जरिवाना तोकेपछि सुनसरीका पत्रकार आन्दोलित

हाम्रो कोशी आवाज
भाद्र १२ २०८२, बिहिबार
समाचार लेख्दा पत्रकारलाई डेढ लाख जरिवाना तोकेपछि सुनसरीका पत्रकार आन्दोलित

धरानः सुनसरीका पत्रकारहरूले बिहीबार जिल्ला प्रशासन कार्यालयमा धर्ना दिएका छन् ।
कोशी प्रदेश सरकारले समाचार लेखेकै आधारमा पत्रकारलाई १ लाख ५० हजार रुपैयाँसम्म जरिवाना गर्ने प्रावधान ल्याएको र कोशी प्रादेशिक आमसञ्चार प्रतिष्ठानमा अध्यक्षलाई औपचारिक मात्र बनाएर कार्यकारी अधिकार सरकारद्वारा नियुक्त रजिस्टारलाई दिने व्यवस्थाको विरोध जनाउँदै महासंघ आन्दोलनमा ओर्लेको हो । विवादास्पद दफा संशोधन नगरे सडक आन्दोलन चर्काउने चेतावनीसमेत पत्रकारहरूले दिएका छन् । शान्तिपूर्ण धर्ना कार्यक्रममा केहीबेर प्रहरी–पत्रकार घम्साघम्सीसमेत भएको थियो ।
कोशी प्रदेश सरकारले ल्याएको आमसञ्चार विधेयकमा समाचार लेखेकै आधारमा पत्रकारलाई दण्डित गर्ने गरी ल्याएको प्रावधान खारेज गरिनुपर्ने मागसहित उनीहरुले जिल्ला प्रशासन कार्यालयमा धर्ना दिएका हुन् ।
महासंघका पूर्व अध्यक्ष अमर खड्काले प्रेस स्वतन्त्रता विरोधी कदमबाट सरकार पछाडि नहटे अर्थात् आमसञ्चार विधेयक संशोधन नभएसम्म आन्दोलन जारी रहने बताए ।
नेपाल पत्रकार महासंघ कोशी प्रदेशले गत भदौ ९ गतेदेखि चरणबद्ध आन्दोलन गरेको थियो । जसअनुसार नेपाल पत्रकार महासंघ सुनसरीको अगुवाईमा जिल्ला प्रशासन कार्यालय पुगेर करिब एकघण्टा धर्ना दिएको हो । ‘कोशी प्रदेश आमसञ्चार विधेयकमा रहेका प्रेस स्वतन्त्रता विरोधी प्रावधान खारेज गर’ भन्ने नारासहित पुगेका उनीहरुले त्यहाँ धर्ना दिएका हुन् ।
सरकारले राजनीतिक नियुक्ति तोकेको रजिस्टारलाई समाचारबारे उजुरी लिनेदेखि जरिवाना असुल गर्ने र क्षतिपूर्ति भराउनेसम्मको अधिकार दिने व्यवस्था गरिएकोमा महासंघले आपत्ति जनाएको छ । यसैबीच कोशी प्रदेशका १४ वटै जिल्लामा पत्रकारले धर्ना दिएका छन् ।
तस्वीरहरूः लक्ष्मण थापा

प्रकाशित मिति: भाद्र १२ २०८२, बिहिबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend