Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

भेडेटारनजिकै नाम्जेमा करोडौंको चारतारे होटल निर्माण हुँदै

हाम्रो कोशी आवाज
भाद्र १३ २०८२, शुक्रबार
भेडेटारनजिकै नाम्जेमा करोडौंको चारतारे होटल निर्माण हुँदै

धरानः पर्यटकीय भेडेटारदेखि ४ किलोमिटर माथि रहेको पछिल्लो समय पर्यटकको आकर्षणको केन्द्र बन्दै गएको नाम्जे गाउँमा होमस्टेसँगै चारतारे होटल सञ्चालनमा आउने भएको छ ।
६–७ महिनापछि रिदी रिसोर्ट नाम दिइएको होटल सञ्चालनमा आउन लागेको हो । करिब २० करोडको लगानीमा अत्याधुनिक होटल सञ्चालनमा आउन लागेको होटल एशोसिएसन अफ भेडेटारका संस्थापक अध्यक्ष विष्णु श्रेष्ठले जानकारी दिए । विदेशी समेत भित्र्याउने लक्ष्यका साथ भेडेटारनजिकै नाम्जेका सो होटल सञ्चालनमा आउन लागेको उनले जानकारी दिए । ‘करिब १३ रोपनी जग्गामा निर्माण हुने होटलमा ६० वटा रुम र बेडसहितको होटल सञ्चालनमा आउँदैछ’, उनी भन्छन् । होटलमा खेल, मनोरञ्जन, क्यासिनो, स्वीमिङ पुल, मसाज, स्पा, ब्यायामशाला, वातालुकुलित कोठा उपलब्ध हुने जनाइएको छ ।
माइक्रो ग्रामीण टुरिजम र हेल्थ टुरिजमको हिसाबले पनि भेडेटार, नाम्जे परिचित छ । साँगुरीगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्दालीले भेडेटार निजी लगानीकर्ताको आकर्षणको केन्द्र बन्दै गइरहेको र चारतारे होटल सञ्चालनमा आउनु खुशीयालीको कुरा भएको बताउँदै निजी लगानीकर्ताले नै चारतारे होटल सञ्चालनमा ल्याउन लागेको जानकारी दिए । ‘भेडेटारमा चाँडै नै स्टार लेवलको होटल सञ्चालनमा आउन लागिरहेको छ’, उनले भने, ‘गाउँपालिकामा नक्सापास गरेर होटल सञ्चालनको लागि अन्तिम तयारीमा छ ।’ सो होटल नाम्जेको थुम्कीको ‘टप’ मा सञ्चालनमा आउन लागेको उनको भनाइ छ ।
स्वदेशी तथा विदेशी पर्यटकलाई सुविधा दिने लक्ष्यसहित सो होटल सञ्चालनमा आउन लागेको उनले जानकारी दिए । निर्माण हुने होटलको मुख्य भवन ५ तलाको रहने र पार्टी, सेमिनार तथा स्पार जीमका लागि छुट्टै भवन निर्माण हुने समेत लक्ष्य राखिएको जनाइएको छ । होटलमा ६० वटा अत्याधुनिक रुमहरु रहनेछन् । जसमध्ये प्रेसिडेन्सियल स्वीट रुम, फेमिली स्वीट रुम, सुपर डिलक्स र डिलक्स रुमहरु रहनेछन् । होटलको डिजाइन नै रुमदेखि सम्पूर्ण सेवा सुविधाहरु चारतारे होटलको मापदण्ड अनुसार गरिने भएको छ । भेडेटार, नाम्जे आउने सबै खालका पाहुनालाई उपयुक्त हुने खालका रुमहरु तयार गरिने सञ्चालकले बताएको उनले जानकारी दिए ।

यस्तो छ सम्भावना
भेडेटार र नजिकको नाम्जेमा स्थानीय प्रशासनसँग मिलेर २४ सै घण्टा अहिले सेवा दिइरहेको समेत उनले जानकारी दिए । भेडेटार, नाम्जे अहिले सबै क्षेत्रको ट्राजिट प्वाइन्ट बन्दैछ । खासगरी विराटनगरदेखि कोशी लोकमार्गको विस्तार, ताप्लेजुङदेखि तमोर कोरिडोर, पाँचथरको रवि–राँकेदेखि भेडेटारसम्मको सडक विस्तारले पनि अहिले भेडेटार पर्यटकीय गन्तव्य बन्दै गइरहेको उनले बताए । उनी विभिन्न आकर्षक प्याकेज बनाएर पनि पर्यटक तान्ने योजना बनाउन सकिने बताउँछन् ।
सुनसरी र धनकुटाको संगमस्थल भेडेटार कोशी प्रदेशमै आकर्षक पर्यटकीय गन्तव्य र घुम्न रुचाउने पर्यटकीय गन्तव्यका रुपमा लिन थालिएको छ । छिनछिनमै मौसम परिवर्तन, चिसो हावापानी भेडेटारका विशेषता हुन् । भेडेटार आसपासमा अहिले करिब ५५ वटा भन्दा बढी होटल सञ्चालनमा छन् । भेडेटारमा दैनिक दुई हजारदेखि २५ सयको संख्यामा पर्यटक घुम्न आउने गरेका छन् । घुम्न आउने कुल पर्यटकको संख्यामा ४० प्रतिशत भारतीय आउने गरेका छन् ।

चम्किएको नाम्जे
मेरिकाको समाचार संस्था सिएनएनले राखेको विश्वको घुम्नैपर्ने आठौं पर्यटकीय गन्तव्यहरूको सूचीमा रहेको धनकुटाको नाम्जे गाउँ होमस्टेले चम्किएको हो । भारतीय मूलका अमेरिकी नागरिक राजीव गोयलको पहलमा सिएनएनले वि.स. २०६८ सालमा आफूले घोषणा गरेको विश्वका १२ औं गन्तव्यमध्ये नाम्जे गाउँलाई ८ औं गन्तव्य सूचीमा राखेको थियो । साँगुरीगढी ६ स्थित गाउँलाई सिएनएनले नौ सूचकका आधारमा नाम्जेलाई आफ्नो गन्तव्य सूचीमा राखेको थियो । आम्माघर, नाम्जे विद्यालय, पम्पिङ खानेपानी, विभिन्न एफएम टावरहरू, मगर जातिको हुर्रा नाच, हात्तीसुँडे झरना, लोप्सेडाँडा, सूर्योदय बुद्धविहार, अर्गानिक गाउँलाई आधार मान्दै आठौं गन्तव्य सूचीमा समावेश गरेको थियो । यही चर्चाले नाम्जे गाउँमा पर्यटक ओइरिन थालेका हुन् । अहिले पनि त्यहाँका जनता घरबास (होमस्टे) मार्फत् अर्गानिक गाउँ बचाउन लागिरहेका छन् । नाम्जेमा अहिले पनि दैनिक एक सय ५० जनालाई सेवा दिने क्षमताको ३५ मगर जातिको घरबास (होमस्टे) सेवा सञ्चालनमा छ ।
होमस्टेले यहाँ उत्पादित अर्गानिक सब्जी, खानपान, पेय पदार्थ र हुर्रानाच लगायत सेवा दिइरहेको छ । गाउँपालिका अध्यक्ष रुम्दालीले अहिले पनि घरबास सेवाको लागि सहयोग, अर्गानिक खेतीमा जोड, मगर जातिको कला, संस्कृति जोगाउन आफूहरु लागिपरेको बताउँछन् । बाह्रै महिना चिसो मौसमसँगै एकसाथ हिमाल, पहाड र तराई हेर्न सकिने नाम्जे गाउँको ग्रामीण जीवनशैली, मगर जातिको संस्कृति र उनीहरुको मीठो आतिथ्यता अहिले पनि छँदैछ । करिब १४ सय ८५ मिटर उचाइमा रहेको नाम्जेमा ९५ प्रतिशत मगर जातिको बसोबास छ । २०७० सालदेखि होमस्टे सञ्चालनमा ल्याइएको हो । होमस्टेमा सस्तो र सुलभ मूल्यमा बास बस्ने, खाने व्यवस्था गरिएको छ ।

प्रकाशित मिति: भाद्र १३ २०८२, शुक्रबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend