धरानः धरानमा सुनसरी उद्योग वाणिज्य संघले रक्तदान कार्यक्रम आयोजना गरेको छ ।
संघको स्थापना दिवस अर्थात् वार्षिकोत्सवको अवसरमा ‘रक्तदान जीवनदान, रक्तदान महादान’ भन्ने मूल नारासहित रक्तदान कार्यक्रम आयोजना गरेको हो । संघ ६२ वर्ष पूरा गरी ६३ औं वर्षमा प्रवेश गरेको उपलक्ष्यमा यस्तो कार्यक्रम आयोजना गरिएको हो । नवनिर्वाचित कार्य समितिले पहिलो कार्यक्रम रक्तदानसँगै सामाजिक कार्य गर्दै शुरुवात गरेको हो । ‘बीपी प्रतिष्ठानमा रक्तदान अभाव भइरहेको महसुस गरेर आफूहरुले यो कार्यक्रम समाजप्रति पनि उत्तरदायी छौं भनेर आयोजना गरेका हौं’, कार्य समिति सदस्य महेन्द्र प्रधानले जनकारी दिए ।
कोशी प्रदेशका संस्थापक सभामुख प्रदीपकुमार भण्डारीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रमको अध्यक्षता नवनिर्वाचित अध्यक्ष गोपाल श्रेष्ठले गरेका थिए । कार्यक्रममा २५० भन्दा बढी उद्योगी, व्यवसायी, संघका पदाधिकारी तथा सदस्यहरूको सक्रिय सहभागिता रहेको थियो । कार्यक्रममा ६४ पिन्ट रगत संकलन भएको संघका सदस्य प्रधानले जानकारी दिए ।
कार्यक्रमका प्रमुख अतिथि संस्थापक सभामुख भण्डारीले यस्तो मानवीय कार्यले नागरिक जीवनको रक्षा गर्ने विश्वास व्यक्त गरे । उनले भने, ‘रक्तदान केवल एक सामाजिक कार्य मात्र होइन, यसले आवश्यक व्यक्तिलाई जीवनदान दिन सक्छ । यस्ता कार्यक्रमले नागरिकबीच सामाजिक उत्तरदायित्व प्रतिको चेतना अभिवृद्धि गर्छ ।’
संघले सामाजिक उत्तरदायित्व अन्तर्गत आगामी दिनमा जनस्वास्थ्य, शिक्षा र मानवसेवा सम्बन्धी कार्यहरूलाई थप व्यवस्थित र प्रभावकारी बनाउने प्रतिबद्धता जनाएको छ । संघले साना, मझौला तथा ठूला व्यवसायीहरूको हकहितमा आवाज उठाउँदै सामाजिक रूपान्तरणका पक्षमा समेत अग्रसर हुँदै आएको छ ।
तस्वीरहरूः लक्ष्मण थापा






















