Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

सुनको मूल्यमा नयाँ रेकर्ड, अझै बढ्ने, कारोबार घट्दै

हाम्रो कोशी आवाज
भाद्र १७ २०८२, मंगलबार
सुनको मूल्यमा नयाँ रेकर्ड, अझै बढ्ने, कारोबार घट्दै

धरानः नेपाली बजारमा सुनचाँदीको मूल्यले दैनिक नयाँ-नयाँ रेकर्ड बनाउँदै आएको छ । सुन प्रतितोला दुई लाख पाँच हजार ९०० रुपैयाँमा कारोबार भएर नयाँ रेकर्ड बनाएको हो । सोमबार (भदौ १६) सुन प्रतितोला दुई लाख पाँच हजार ३०० रुपैयाँमा कारोबार भएर नयाँ रेकर्ड बनेको थियो । सोमबारको रेकर्ड मंगलबारको मूल्यले तोडेको हो ।
विश्वभर नै आर्थिक अन्योलता बढेर जाँदा दैनिक सुनको मूल्य बढ्दै गएको नेपाल सुनचाँदी व्यवसायी महासंघका पूर्वअध्यक्ष मणिकरत्न शाक्यले बताए ।
यसका साथै नेपालमा विलासिता करले गर्दा पनि मूल्य केही बढ्न गएको उनी बताउँछन् । “सुनको मूल्य बढ्छ भनेर मैले पहिले नै भनेको थिए । अझै बढ्दै जान्छ, नेपालीले किन्न नसक्ने स्थिति हुन सक्छ,” शाक्यले भने, “अन्तर्राष्ट्रिय रूपमा नै सुनचाँदीको मूल्य बढ्दै गएको छ । भूराजनीति तनाव, अमेरिकी डलर र ब्याजदरका कारणले सुनचाँदीको मूल्य लगातार बढिरहेको हो ।”
सुनचाँदीको मूल्य डलरमा निर्धारण हुन्छ । अहिलेको अवस्थामा विश्वका मुद्रासँग डलर कमजोर हुँदै गएको र अमेरिकी फेडेरल रिजर्भ बैंकले ब्याजदर घटाइरहेको छ ।
बैंकको ब्याजदर कम हुँदा लगानीकर्ता सुनचाँदी खरिदमा आकर्षित हुन सक्ने अनुमान गरिएको छ । नेपालमा सरकारले लगाएको दुई प्रतिशत बिलासिता करका कारणले पनि केही मूल्य वृद्धिमा ‘सपोर्ट’ गरेको शाक्य बताउँछन् । बजारमा सुनको मूल्य महँगो भएपछि कारोबार घट्ने उनको भनाइ छ ।
नेपालमा पहिले १० लाखभन्दा बढी सुन खरिद गर्दा लाग्ने बिलासिता कर यो आर्थिक वर्षबाट जतिसुकै खरिद गर्दा लाग्ने भएको छ । यो विलासिता करका कारण पनि उपभोक्तालाई सुन महँगो पर्न आउने उनी बताउँछन् ।
यसरी मूल्य बढ्दै जाँदा सुन व्यवसायमा नै संकट आउन सक्ने उनको भनाइ छ । “विलासिता करले नेपालमा मात्र प्रभाव पर्ने हो । सुनचाँदीको मूल्य बढ्दै गर्दा व्यवसाय गर्न नै कठिन हुने स्थिति आएको छ । रोजगारी गुम्ने खतरा बढेको छ,” उनले भने ।
आज चाँदी प्रतितोला १५ रुपैयाँले बढेर नयाँ रेकर्ड बनाएको छ । चाँदी प्रतितोला दुई हजार ४८५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । सोमबार चाँदी प्रतितोला दुई हजार ४७० रुपैयाँमा कारोबार भएको थियो । चाँदीको मूल्यले सोमबारको रेकर्ड आज तोडेको छ ।

प्रकाशित मिति: भाद्र १७ २०८२, मंगलबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend