धरानः दाताहरूकै भरमा सञ्चालनमा आएको सञ्चालन हुँदै आएको धरान–३ स्थित सरस्वती बाल आश्रमले सप्ताहव्यापी कार्यक्रमका साथ बाल दिवस मनाउने भएको छ ।
६१ औं राष्ट्रिय बालदिवस पारेर सप्ताहव्यापी कार्यक्रम गर्न लागेको मूल संयोजक मनिष खड्गीले जानकारी दिएका छन् । भदौ २९ गते नै अनिवार्य वर्षेनी साधारणसभा गर्दै आएको बाल आश्रमले ३९ औं साधारणसभा तथा सप्ताहब्यापी विविध कार्यक्रम गर्न लागेको उनले जानकारी दिए ।
सप्ताहब्यापी कार्यक्रमअन्तर्गत २० गते ३ नम्बर वडास्तरीय बाल क्लब नृत्य प्रतियोगिता, २१ गते आन्तरिक खेलकुद तथा भ्रमण, २५ गते नगरस्तरीय अन्तर मावि वक्तृत्वकला प्रतियोगिता, २७ गते बाल स्वास्थ परीक्षण, २९ गते बिहान प्रभातफेरी, दिउँसो साधारणसभा तथा बालदिवस समापन गरिने बाल आश्रमकी अध्यक्ष रुकमणि मास्केले जानकारी दिइन् ।
अध्यक्ष मास्केका अनुसार विभिन्न प्रतियोगितामा सहभागी बिजेता प्रथम, द्वितीयलाई पुरस्कारको समेत ब्यवस्था गरिएको बताइन् । कार्यक्रमको लागि १ लाख ७५ हजार रुपैयाँको आय र ब्यय बजेट तयार गरिएको छ ।
३३ वर्ष अगाडि अनाथ बालबालिकाको भविष्य निर्माणमा लागेको आश्रममा अहिले करिब २६ जना बालिकाबालिका आश्रित छन् । वि.सं.२०४८ सालमा स्व.कृष्णबहादुर साहीको पहलमा धरान ३ तुर्केमा सञ्चालित यो आश्रम दाताबाट सहयोग मागेरै विद्यार्थीको लालनपोषण, शिक्षा दिने काम गरेको खड्गी बताउँछन् । सहयोगी दाताहरुसँग सहयोग माग्दै सञ्चालनमा आएका यो आश्रमले हजारौं बालबालिकाको भविष्य निर्माण गरिसकेको छ ।
यहाँ अभिभावक गुमाएका, अभिभावकले छाडेकाहरुले आश्रय मात्र पाएका छैनन्, उनीहरुको शिक्षा, स्वास्थ्यमा समेत ध्यान दिने गरिएको छ । यही आश्रममा हुर्केर धेरै बालबालिकाको भविष्य बनिसकेको छ ।
बालबालिकाको भविष्य निर्माणको उद्देश्य राखेर सञ्चालन भएको यो आश्रमलाई सरकारीस्तरबाट कुनै सहयोग छैन । बालबालिकाको भविष्य निर्माणसँग जोडिएको यो आश्रम सरकारी स्तरबाट भने उपेक्षित भएको छ । धरानका समाजसेवीको सहयोग नपाएको दिन पसल पसलमा मुठीदान संकलन गरेर चामल उठाएर भएपनि बालबालिकालाई खुवाउने गरिएको घटना पनि छ । तस्वीरहरूः लक्ष्मण थापा



