धरान : सुनसरीको बराहक्षेत्र नगरपालिका–१ स्थित दुधपानी खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाउँदा श्रीमान बेपत्ता भएका छन् भने श्रीमती घाइते भएका छन् ।
काठमाडौँबाट धनकुटातर्फ जाँदै गरेको बाग्मती प्रदेश ०२–०४७ प ७३८ नम्बरको मोटरसाइकल बराहक्षेत्र नगरपालिका–१ स्थित दुधपानी खोला तर्दै गर्दा खोलाले बगाएको जिल्ला प्रहरी कार्यलय सुनसरीका प्रहरी प्रबक्ता योगराज खतिवडाले जानकारी दिए ।
बेपत्ता हुनेमा सर्लाही हरिवनका २७ वर्षीय मनिष पञ्चकोटी रहेका छन् । उनकी श्रीमती २७ वर्षीया सिलु खड्गीसंगै सवार मोटरसाइकल बगाउँदा पञ्चकोटी बेपत्ता भएका हुन् भने उनकी श्रीमती खड्गीलाई खोलाबाट उद्धार गरि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको प्रवक्ता खतिवडाले बताए ।
घटनापछि स्थानीयवासीले इलाका प्रहरी कार्यालय महेन्द्रनगरलाई खबर गरेका थिए । सूचना प्राप्त लगत्तै इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरीक्षक दिवश कुँवरको नेतृत्वमा १० जना, इलाका प्रहरी कार्यालय चतराबाट प्रहरी नायब निरीक्षक राजन खड्काको टोली,अस्थायी प्रहरी पोस्ट चतरा पुलबाट प्रहरी सहायक निरीक्षक एकनाथ खतिवडाको टोली घटनास्थलमा खटि खोलाले बगाएकाको खोजिकार्य सुरु गरेको थियो ।
खोलाले बगाएको मोटरसाइकल खोलाबाट निकालेर इलाका प्रहरी कार्यालय चतरामा राखिएको छ भने मोटरसाइकल चालक पञ्चकोटी अझ बेपत्ता रहेकोले खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।
यसअघि सो खोलाले बगाउँदा धरानकी अनिता राईको मृत्यु समेत भएको थियो भने बाबुको जीवनको सकुशल उद्दार गरिएको थियो ।