धरानः सुनसरी जिल्लामा निषेधाज्ञा (कर्फ्यू)शनिबारसम्म लम्बिएको छ। सुनसरीका प्रमुख जिल्ला अधिकारी धम्रेन्द्रकुमार मिश्रले निषेधाज्ञा (कर्फ्यू) आदेश जारी गरेका हुन्। मिश्रले स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) बमोजिम शुक्रबार साँझ ७ बजेदेखि शनिबार बिहान ६ बजेसम्म लागू हुने गरी कर्फ्यु आदेश जारी गरेका हुन्।
आदेश अनुसार कर्फ्यु अवधिभर जिल्लाभित्र आवतजावत, भेला, जुलुस, प्रदर्शन, सभा, बैठक, घेराउजस्ता गतिविधि पूर्ण रूपमा निषेध गरिएको छ।
तर अत्यावश्यक सेवाका सवारी साधनहरू एम्बुलेन्स, दमकल, शववाहन, स्वास्थ्यकर्मी, सञ्चारकर्मी, पर्यटक, मानवअधिकारकर्मी र कूटनीतिक नियोगका सवारी साधनहरूको आवागमन भने सुरक्षाकर्मीको सहजीकरणमा सञ्चालन हुने व्यवस्था गरिएको प्रशासनले जनाएको छ। सुनसरीसहित कोशी प्रदेशका मोरङ, झापा लगायतका जिल्लामा सेनाले अहिले सुरक्षा व्यवस्था कडा बनाएको छ।
