धरानः २६ वर्षीया युवतीलाई बलात्कारपछि हत्याको आरोपमा एकजना पक्राउ परेका छन् ।
खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका–४, बतासेकी २६ वर्षीया रेस्मिका शिवा परियारको बलात्कारपछि हत्या गरेको आरोपमा छिमेकी अन्दाजी १७ वर्षीय दीपक सार्की पक्राउ परेका हुन् । गत भदौ– ३० गते मृत फेला परेकी रेस्मिकाको बलात्कारपछि हत्या गरेको आरोपमा सोही गाउँपालिकाका उनी पक्राउ परेका हुन् ।
जिल्ला प्रहरी कार्यालय खोटाका सूचना अधिकारी प्रहरी निरीक्षक सुशान्त मिश्रका अनुसार नाबालक ती किशोरले पञ्चमी बजारबाट घर फर्किने क्रममा मार्से सामुदायिक वनमा लगेर बलात्कारपछि हत्या गरेको खुलेको छ । स्थानीय अजम्बरी साना किसान कृषि सहकारी संस्थामा कार्यरत ती युवतीलाई जंगलमा लगेर बलात्कार गरेर हत्या गरेको पाइएको प्रहरीले जनाएको छ । जागिरका लागि काममा गएकी उनी घर फर्किन पाइनन् ।
मृतक युवतीको शव धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगेर परीक्षण गरिएको र बलात्कारपछि हत्या गरेको खुलेको प्रहरीले जनाएको छ ।
एक छोरीकी आमा रेस्मिका भदौ–३० गते बेलुकी अबेरसम्म कार्यालयबाट घर नफर्किएपछि खोजी गर्ने क्रममा बतासेको हयाकुले र रमितेडाँडाको बीचमा पर्ने मार्से सामुदायिक वनमा मृत फेला परेकी थिइन् । शव भेटिएको स्थानसम्म घिसारिएको र झाडी मडारिएको थियो । शव रहेको ठाउँभन्दा केही तल ती युवतीले बोक्ने झोला र अन्डरवेयर (प्यान्टी) भेटिएको प्रहरीले जनाएको छ । अन्डरवेयर पाखामा भेटिए पनि शव भने लुगा लगाएको अवस्था देखिएको घटनास्थलमा पुगेका प्रत्यक्षदर्शीहरूले बताएका छन् ।
पक्राउ परेका किशोरले घटनाबारे स्वीकार गरिसकेको प्रहरीले जनाएको छ । उनीमाथि चार दिनको म्याद थप गरी थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ । ५-६ जनाको समूहद्वारा सामूहिक बलात्कारपछि हत्या भएको र अन्यको पनि खोजी भइरहेको प्रहरीले जनाएको छ ।
रेस्मिकाको शवको मुचुल्कापछि बीपी प्रतिष्ठानमा पोस्टमार्टम गरी बुधबार इटहरीको बुढीखोलामा दाह संस्कार गरिएको छ ।