धरानः बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा सुझाव तथा गुनासो सुनुवाई समिति गठन गरिएको छ ।
सेवा सुविधालाई अझै चुस्त दुरुस्त र प्रभावकारी बनाउन प्रतिष्ठानको एनस्थेसियोलोजी विभागका प्रमुख प्रा.डा. बालकृष्ण भट्टराईको संयोजकत्वमा सो समिति बनेको हो । समितिको सदस्यहरुमा साइकियाट्रिक नर्सिङ विभागकी प्रा.समी लामा, एनोटोमी विभागका प्रमुख प्रा.डा. सरुन कोइराला, पब्लिक हेल्थ डेन्टिस्ट्री विभागका इन्चार्ज डा. ताराकान्त भगत तथा प्रतिष्ठानका डेपुटी अस्पताल निर्देशन डा. इन्द्र लिम्बू रहेका छन् ।
प्रतिष्ठानकी प्रवक्ता प्रा.डा. अन्जु प्रधानद्वारा जारी विज्ञप्तिमा कुनै गुनासो भएमा समितिलाई लिखितरुपमा जानकारी दिन पनि अनुरोध गरेकी छिन् । गुनासो भएमा बिहान ८ बजेदेखि ५ बजेसम्म लिखितरुपमा उपकुलपति कार्यालय परिसरमा रहेको योजना तथा अनुगमन महाशाखाको कार्यालयमा बुझाउन सकिने जनाइएको छ ।
प्रतिष्ठानमा शुल्क तिरेको बिलबिना नै पनि विचौलियाहरुले परीक्षप गराउने गरेको थाहा पाएपछि सूचना अधिकृत दिव्यराज थापालाई जानकारी दिन समेत अनुरोध गरिएको छ ।
प्रतिष्ठान जसरी भएपनि सुधार्छु भन्दै नयाँ उपकुलपति प्रा.डा. विक्रमप्रसाद श्रेष्ठ आइसकेपछि प्रतिष्ठानमै कार्यरत चिकित्सकले बाहिर काम गर्ने, ल्याब खोल्ने, बाहिर उपचारका लागि पठाउनेलगायत कामहरु समेत रोक्दै आएका छन् । धरानबासी समेत धरानकै उपकुलपति भएको भन्दै खुशी व्यक्त गर्दै आएका छन् ।

