धनकुटा : लगातारको वर्षाका कारण पहिरो जाँदा धनकुटाको साँगुरीगढी गाउँपालिका–६ मुक्तेनका ९ परिवार विस्थापित भएका छन्। निर्माणाधीन भेडेटार–रवि–राँके सडक खण्डको माथिल्लो भागबाट सुरु भएको पहिरोले उनीहरू विस्थापित भएका हुन् ।
स्थानीय प्रहरी र जनप्रतिनिधिहरूका अनुसार पहिरो सोमबार दिउँसोदेखि खस्न थालेको हो । त्यसयता अविरल वर्षासँगै पहिरोको जोखिम अझै कायम रहेको छ। पहिरोले केबलप्रसाद मगरको दुई तले घर पूर्ण रूपमा ध्वस्त भएको छ भने अन्य आठ घर जोखिममा रहेको प्रहरीले जनाएको छ ।
पीडित परिवारहरूलाई तत्काल गाउँपालिकाले अस्थायी टहरा बनाएर राखेको छ । केही परिवारहरूलाई छरछिमेक तथा आफन्तको घरमा राखिएको छ । गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्दाली राईले पीडितलाई सुरक्षित स्थानमा सार्न प्राथमिकताका साथ काम भइरहेको बताए ।
‘पहिरोको जोखिम अझै टरिसकेको छैन। स्थानीय तहको तर्फबाट तत्काल राहत तथा वैकल्पिक बसोबासको व्यवस्था मिलाउने काम भइरहेको छ’ अध्यक्ष राईले भने। स्थानीय बासीका अनुसार हालसालै सडक विस्तारका क्रममा गरिएको डोजर प्रयोग र पानीको उचित निकासको अभावले पहिरोको जोखिम अझ बढाएको हो।